२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

रोजगार रणनीति योजना बनाउँदै बगनासकाली

अम्बिका पाण्डे
पाल्पा ।
यहाँका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रोजगार, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेका छन् । सामाजिक र पूर्वाधारका क्षेत्रमा जस्तै जिल्लाका विभिन्न स्थानीय तहले आन्तरिक रोजगार र स्वरोजगार व्यवस्थापनका लागि समेत विभिन्न कार्यक्रम गर्दै आएका छन् । १० वटा स्थानीय तह रहेको पाल्पाका पूर्वखोला, माथागढी, बगनासकाली, तानसेन लगायतका अन्य स्थानीय तहले स्थानीय तहमै स्वरोजगार सिर्जना गर्ने गरी नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । स्थानीय तहलाई उद्यम व्यवसायको पहिचान र विकास तथा उत्पादन र उत्पादकत्व वृद्धी गरी रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता देखि रोजगारका कार्यक्रमको दीगोपना सुनिश्चितता प्रदान गर्ने गरी कार्यक्रम गर्न रोजगारका कार्यक्रमलाई अगाडि बढाएको जनप्रतिनिधिको भनाई छ ।

यसै सन्दर्भमा बगनासकाली गाउँपालिकाले तयार गरेको पाँच वर्षे रोजगार रणनीति योजनाको प्रारम्भिक मस्यौदामाथि गाउँपालिकामा छलफल सम्पन्न गरेको छ । गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख कोशलराज पौडेलका अनुसार आर्थिक वर्ष २०८०।०८१ देखि २०८४।०८५ सम्मको पाँच वर्षे रणनीतिक योजना आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्नको लागि छलफल चलाइएको थियो ।

श्रमको सम्मान, राष्ट्रको अभियान नारासहित बगनासकाली गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र पाँच वर्षे श्रम सम्बन्धीे पञ्चवर्षीय रणनीतिक योजनाको प्रारम्भिक मस्यौदा गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख कोशलराज पौडेलले तयार पार्नुभएको हो । रणनीतिक योजनामा पौडेलले श्रम बजारका क्षेत्रमा हुने सवै प्रकारको विभेद र शोषण अन्त्य गर्ने, न्यूनतम रोजगारी सुनिश्चित गर्ने, श्रमप्रतिको सम्मान गर्ने संस्कृतिको विकास गर्ने, मागमा आधारित कार्यक्रम अगाडि बढाउने लगायतका विषय समावेश गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूले बगनासकालीमा भएको बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न स्थानीय तहले प्रदेश, संघ र विभिन्न रोजगारप्रदायकसँग आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिएका थिए । उत्पादित वस्तुलाई लोगोसहित बजारीकरणमा गाउँपालिकाले सहयोग गर्नुपर्ने, तालिमपश्चात् पहिचान हुने खालका रोजगारका कार्यक्रम सञ्चालन गर्नुपर्ने, नमूना योग्य योजना बनाउनुपर्ने सहभागीहरूको भनाई थियो । छलफलमा प्रवक्ता टिकाबहादुर थापा, वडा नं. ८ का पशुपती बस्याल, बगनासकाली पत्रकार समुहका अध्यक्ष भोजराज तिमिल्सिना, गैरसरकारी संस्था प्रतिनिधि भेषराज तिमिल्सिना, उद्योग वाणिज्य संघका प्रतिनिधि पदम बहादुर थापा, निर्माण व्यवसायी केशव रायमाझी लगायतले सुझावसहितको धारणा राख्नुभएको थियो ।

गाउँपालिकाका कार्यवहाक अध्यक्ष हरिप्रसाद पाठकले स्थानीय तहमा रहेको स्रोत र साधनको प्रयोग गरी प्राप्त सल्लाह र सुझाव अनुसार रोजगार रणनीति कार्यान्वयको चरणमा लैजाने बताउनुभयो । उहाँले अनुदानलाई पारदर्शी बनाउने, स्थानीय स्रोत साधन र व्यवसायिलाई प्राथमिकता दिदै रोजगारीको हकलाई व्यवहारिक कार्यान्वयनका लागि क्रमश बजेट व्यवस्थापन गरिने प्रतिवद्धता जनाउनुभयो ।

रोजगार संयोजक सरिता पाण्डेले कार्यक्रमको सहजीकरण गर्दै सकेसम्म स्थानीय तह आफैले सञ्चालन गरेका विभिन्न विकास योजना कार्यहरूमा पालिकामा सूचिकृत बेरोजगार व्यक्तिहरूहरुलाई सहभागी गराइएको जानकारी दिनुभयो । बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकको अध्यक्षता, आलेप अधिकृत यादव न्यौपानेको स्वागत र रोजगार संयोजक सरिता पाण्डेको सञ्चालनमा कार्यक्रम भएको हो । योसँगै जिल्लाका अन्य स्थानीय तहले पनि सामाजिक विकासका क्षेत्रलाई अगाडि बढाउ रोजगार रणनीतिको कार्यक्रम अगाडि बढाएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिले विकास भनेको बाटो घाटो मात्र नभई अन्य क्षेत्रलाई पनि उत्तिकै महत्त्व दिँदा बजेटले नागरिकको अपेक्षा पूरा गर्ने बताउँछन् । रोजगारी सिर्जना र आयस्तर वृद्धिका लागि कृषि, पर्यटनमा बजेट विनियोजन बढाउँदै जानु आवश्यक रहेको धेरै जसो स्थानीय तहका जनप्रतिनिधिको भनाई छ । जिल्लाका स्थानीय तहका प्रमुखले बजेट, नीति तथा कार्यक्रम र सार्वजनिक फोरममा दिने अभिव्यक्तिमा रोजगार, स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई विकासको आधार मानेर कार्यक्रममा नागरिकलाई स्वरोजगार बनाउने खालका कार्यक्रमहरु समावेश गरिएको बताउँछन् । यहाँका सवै स्थानीय तहले असार महिनाभित्रमै नीति तथा कार्यक्रमसहित बजेट पारित गरेका छन् । बजेटमा पूर्वाधारमा विगतका वर्षमा धेरै लगानी भएपनि आगामी वर्षदेखि स्वरोजगार सिर्जनाको लागि सामाजिक विकासका क्षेत्रमा लगानी बढाउन थालिएको स्थानीय तहका जनप्रतिनिधिको भनाई छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।