भोजराज भट्टराई
१८ असार, पाल्पा ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई बगनासकाली गाउँपालिकाले सम्मान गरेको छ । असार १८ गते बुधबार गाउँकार्यपालिकाको सभाहलमा एक समारोहको आयोजना गरी गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहबाट एसईई सफल विद्यार्थीलाई नगद, मायाको चिनोसहित सम्मान गरेको हो ।
गाउँपालिकाभित्रका ९ वटा वडामा रहेका १० वटा माध्यमिक विद्यालयबाट शैक्षिक सत्र २०८१ को एसईई परीक्षा पास गरेका १०९ विद्यार्थीलाई सम्मान गरेको शिक्षा शाखा प्रमुख नारायण तिमिल्सिनाले जानकारी दिनुभयो । परीक्षामा सहभागी १४० विद्यार्थी मध्ये १०९ उत्तीर्ण भएको र ३१ जना ग्रेड वृद्धिमा रहेको तिमिल्सिनाले बताउनुभयो । छात्रतर्फ गाउँपालिकाको वडा नं. ६ स्थित सीता माध्यमिक विद्यालयका भोजराज बस्यालले ३ दशमलव ८३ प्रतिशत सहित गाउँपालिका प्रथम भएको र छात्रातर्फ वडा नं. १ ग्राम्य मा.वि.का प्रेक्षा खनाल ३ दशमलव ७७ प्रतिशत गाउँपालिका प्रथम भएको समेत शिक्षा शाखा प्रमुख तिमिल्सिनाले बताउनुभयो ।
बगनासकाली गाउँपालिकाले समग्रमा ७७ दशमलव ८५ प्रतिशत उत्तीर्ण नतिजा ल्याई जिल्लामा राम्रो स्थान कायम गरेको छ । शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाको निरन्तर मेहनत र चासोका कारण गाउँपालिकाको यसपटकको एसईई नतिजा उत्कृष्ट भएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो । उहाँले गाउँपालिकाले शैक्षिक सुधारको लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा महत्त्वपूर्ण कार्यक्रम र आवश्यक बजेट व्यवस्थापन सहित लागि परेको जानकारी दिनुभयो ।
सोही अवसरमा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल, प्रवक्ता टिकाबहादुर थापा लगायतले विद्यार्थीहरूको सफलता गाउँपालिकाको बौद्धिक सम्पत्ती भएकोले आगामी उच्च शिक्षामा समेत निरन्तर लगनशीलताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । गाउँसरकारले आफूहरूलाई सम्मान गरेकोमा विद्यालय शिक्षामा स्थानीय सरकारको लगानीको कदर भएको बताएका थिए । माध्यमिक तहको परीश्रमको फल नै एसईई भएको भन्दी विद्यार्थीले आगामी उच्च शिक्षाको लागि स्थानीय सरकारको सम्मानबाट प्रोत्साहन मिलेको बताएका थिए । 










