भोजराज भट्टराई
पाल्पा, ३ भाद्र ।

दुःखी घरैमा दिनुभयो बाबाले…२,
बाबा त्यति सुख पाइछैन ।
जती दुःख परेपनि घरैमा…२,
बाबा रुँदै माइत आइछैन ।
मेरा बाबाले किन्दिएको सारी…२
बाबा मन परेन लाइछैन ।
हिन्दू नारीहरूको महान चाड सांस्कृतिक पर्व तीजलाई तडक–भडक होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ ।
बगनासकाली गाउँपालिकास्तरीय महिला समन्वय समितिले मंगलबार गाउँपालिकाको सभाहलमा आयोजना गरेको ‘तीज विशेष कार्यक्रम’को अवसरमा सहभागी प्रतियोगीहरूले आफ्ना गीतका भाकामा दुखेजिलो जीवन शैलीका कुरामात्र उठाएनन् । परिवर्तन भएको समयमा तीजलाई मौलिक बनाउनुपर्ने भन्दै प्रगतिशील आवाज समेत बुलन्द गराए । आफ्ना वेदनाहरू भाकामा पोखे । छमछमी नाचे । पालिकाभरका चेलीबेटीहरू एकै ठाउँमा भेटघाट हुँदा खुसीले रमाए र सँगै दरखाएर विदा भए ।
बगनासकाली गाउँपालिकास्तरीय महिला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा गाउँपालिकाभित्रका महिलासञ्जालबाट १० समूहले भाग लिए । प्रतियोगतामा सहभागी सवैलाई गाउँपालिकाले प्रमाणपत्र, यातायात खर्च र दर खुवाएर विदाइ गरेको थियो । सहभागीहरूलाई शुभकामना मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले तीजलाई मौलिक र समय अवस्था अनुसार परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले सदियौ देखि मनाउँदै आएको तीजलाई सरल, सहज र प्रतिफल देखिने गरी गीत, पहिरनमा मौलिकता देखाउँदै सन्देशमूलक बनाउनुपर्ने बताउनुभयो । उपाध्यक्ष पाठकले विकास, समृद्धिमा महिलाहरूको एकता आवश्यक हुने भन्दै तीजका गीत गाएर कार्यक्रमलाई रोचक बनाउनुभएको थियो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद न्यौपाने, प्रवक्ता टिकाबहादुर थापा, महिला सञ्जालकी सह संयोजक पेमा बस्याल, सदस्य विमला बस्याल लगायतले तीजलाई सामाजिक व्यवस्था र सस्ंकृतिमा परिवर्तन ल्याउने पर्वका रूपमा बुझ्न आग्रह गर्नुभयो । तीजको सन्दर्भमा विभिन्न क्षेत्रमा विभिन्न जिम्मेवारीमा रहेका महिलाहरूलाई भेला गराइ कार्यक्रम गर्दा आपसी सद्भाव, स्नेह र तीज संस्कृतिप्रतिको महत्त्व बढ्ने भएकाले तीजको सन्दर्भ पारेर ‘तीज विशेष कार्यक्रम’ आयोजना गरिएको सामाजिक विकास शाखा प्रमुख धन कुमारी रानाले बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, महिला सञ्चालका प्रतिनिधि, कर्मचारी गरी एक सय बढीको सहभागिता रहेको थियो । कार्यक्रमका थप केही तस्विरहरू ।










