पाल्पा १९, भाद्र ।
बगनासकाली गाउँपालिकाले नवआगन्तुक कर्मचारी स्वागत तथा सरुवा भइ जाने कर्मचारीको विदाई कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार गाउँपालिका सभाहलमा एक औपचारिक कार्यक्रम आयोजना गरी गाउँपालिकामा २०७६ पुषदेखि सेवारत वडासचिव माधव भण्डारीलाई विदाईका साथै शिक्षा शाखामा रैनादेवी छहरा गाउँपालिकाबाट सरुवा भई आउनुभएका शिक्षा शाखा प्रमुख निशा पाण्डे र समृद्धिका लागि वन परियोजना कार्यक्रमका लागि गाउँपालिकाबाट वैकल्पिक उम्मेदवारबाट छनोट हुनुभएका क्षितिज पाठकलाई मायाको चिनो प्रदान गरी स्वागत गरिएको हो ।


सोही अवसरमा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले सिकेका कुरालाई नयाँ कार्यस्थलमा प्रयोग गर्दै अगाडि बढ्न शुभकामना दिनुभयो । साथै उहाँले नयाँ आउने कर्मचारीको लागि समेत कार्यस्थलमा कार्यसम्पादनको लागि गाउँपालिकापरिवारबाट निरन्तर सहकार्य र सहयोग रहने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले कर्मचारी जीवनमा सरुवा, बढुवा नियमित प्रक्रिया भएकोले विदाइ भई जाने कर्मचारीले आफू रहँदा बस्दाको क्षेत्रको अनुभवलाई नयाँ कार्यस्थलमा थप परिस्कृत गर्दै जानका लागि सुझावसहित नयाँ कर्मचारीलाई शुभकामना व्यक्त गर्नुभयो ।
शिक्षा शाखा प्रमुख निशा पाण्डेले विगतमा अन्य क्षेत्रमा रहँदाको अनुभवलाई गाउँपालिका परिवारको सहयोग, समन्वय र सहकार्यबाट प्रयोग र परिस्कृत गर्दै गाउँपालिकाले लिएका लक्ष्य, नीतिलाई परिपूर्ति गर्न प्रतिबद्ध रहने बताउनुभयो । उहाँले करीब ५ वर्ष ६ महिना रैनादेवी छहरा गाउँपालिका, पाल्पामा शिक्षा अधिकृतको रूपमा कार्यरत रहँदा सिकेका ज्ञान, सीप र अनुभवलाई बगनासकाली गाउँपालिकामा प्रयोग गर्दै अगाडि बढ्ने भन्दै स्वागत कार्यक्रम आयोजना गर्ने गाउँपालिका परिवारलाई आभार व्यक्त गर्नुभयो ।
समृद्धिका लागि वन परियोजनाका लागि छनोट भएका क्षितिज पाठकले विगतको गरिमालाई जोगाउँदै आफ्नो कार्यस्थलमा सक्दो राम्रो गर्ने पहल पर्यत्न जारी राख्ने बताउनुभयो ।
बगनासकाली गाउँपालिकाबाट गुल्मीको छत्रकोट गाउँपालिकामा बढुवासहित सरुवा भई जान लाग्नुभएका वरिष्ठ प्रशासन सहायक माधव भण्डारीले गाउँपालिकामा रहँदा बस्दा धेरै विषयमा सिक्ने, बुझ्ने अवसर पाएको भन्दै सिकेको विषयलाई नयाँ कार्यस्थलमा इमान्दारिताका साथ कार्यान्वयन गर्ने बताउनुभयो । गाउँपालिकाको सहकार्य र समन्वयलाई धन्यवाद दिँदै उहाँले गाउँपालिकाले धेरै विषयमा परिपक्व बनाउन सहयोग गरेको स्मरण गर्नुभयो ।
स्वागत तथा विदाई कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालको अध्यक्षता र प्रशासकीय अधिकृत सुजन घिमिरेको सञ्चालनमा भएको हो ।









