पाल्पा, २३ भाद्र । बगनासकालीमा ५९ औं अन्तर्राष्टिय साक्षरता दिवस मनाइएको छ । दिवसको सन्दर्भमा सोमबार वडा नं. १ मा रहेको जनसाहारा सामुदायिक सिकाई केन्द्रको आयोजनामा चित्रकला प्रतियोगिता आयोजना गरिएको हो ।

बगनासकालीको वडा नं. १ स्थित आधारभूत तह (कक्षा १–५) स्तरीय चित्रकला प्रतियोगितामा ६ विद्यालयका १२ विद्यार्थीले सहभागिता जनाएका थिए । सहभागी विद्यार्थी मध्ये बुद्ध शान्ति सामुदायिक विद्यालयकी स्वस्तिका रेश्मी प्रथम स्थान हासिल गर्नुभयो । यस्तै सोही विद्यालयकै रिदम सारु दोस्रो हुनुभयो । प्रतियोगितामा पिप्ले कालिका बोर्डिङ्ग स्कुलका विपिन कुमालले तृतीय स्थान हासिल गर्नुभयो । यस्तै ज्योति बोर्डिङ्गकी रेविका हिताङ्गले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।

विजयी प्रतियोगितालाई प्रमुख अतिथि एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल, वडा नं. १ का वडाध्यक्ष शेरबहादुर चिदी र जनसहारा सिकाई केन्द्रका अध्यक्ष शालिकराम ढुंगाना लगायतले शैक्षिक सामग्रीसहितको पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले विद्यार्थीलाई चित्र बनाउने हौसला बढाउन प्रतियोगिता सान्र्दभिक रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई निरन्तर सिर्जनसिल कर्ममा लाग्नु अतिरिक्त क्रियाकलापले सहयोग पुर्याउने भएकोले विद्यालयले यसखालका कार्यक्रमको आयोजना गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. १ का वडाध्यक्ष शेरबहादुर चिदीले आउने दिनमा वडा कार्यालले विद्यालय र विद्यार्थीको विकासको लागि सहयोग गर्ने बताउँदै सहभागी सवै विद्यालय र विद्यार्थीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

गाउँपालिकाका शिक्ष शाखा प्रमुख निशा पाण्डेले विद्यार्थीको अतिरिक्त क्रियाकलापको लागि शिक्षा शाखाबाट हुनसक्ने हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रतियोगितामा गाउँपालिकाका एम.आइ.एस.अपरेटर भोजराज भट्टराईले मूल्याङ्कनको भूमिका निर्वाह गर्नुभएको थियो ।उहाँले यसप्रकारका कार्यक्रमहरुबाट विद्यार्थी सिकाईप्रति उत्साहित हुने भएकाले विद्यार्थीको प्रतिभा उजागर गर्न प्रतियोगिताले सहयोग पुर्याउने धारणा राख्नुभयो । सिकाई केन्द्रका संस्थापक मोतीराज खनालको स्वागत, अध्यक्ष शालिकराम ढुंगानाको अध्यक्षता र ग्राम्य मा.वि.का प्र.अ. दयाराज कंडेलको सञ्चालनमा कार्यक्रम भएको हो ।










