भाेजराज भट्टराई
पाल्पा २१, असोज ।
गल्याङ नगरपालिका–१ मालुङ्गा र रम्भा गाउँपालिका–१ हुँगीको संगमस्थलमा अवस्थित उत्तरवाहिनी क्षेत्रमा असोज २१ गतेदेखि उत्तरगण्डकी महामेला लाग्ने भएको छ ।
कालीगण्डकीको महिमालाई विश्वभर प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ यही असोज २१ गते देखि कार्तिक १९ गतेसम्म ‘उत्तर गण्डकी महामेला एवम् दामोदर धर्मोत्सव– २०८२ आयोजना गरिने शनिबार तानसेनमा पत्रकार सम्मेल गरी जानकारी दिइएको हो ।


महामेला मूल आयोजक समितिका सचिव नारायण प्रसाद भट्टराईले मेला अवधिभर महामेला अवधिभर तुलसीदल, गाईको दूध र गण्डकीजलद्वारा सवालाख शालग्राम भगवानको अभिषेक पूजन, जल यातायात एवं स्टीमरद्वारा गण्डकी भ्रमण, दामोदर कथा, दीपदान तथा श्रृङ्गारिक गङ्गा आरती, विश्वविख्यात संत एवं गुरुहरूद्वारा प्रवचन, उत्तरवाहिनी महास्नान, उत्तरवाहिनी पूजन, लगायतका गतिविधि गरिने जानकारी दिनुभयो ।

मेलामा गण्डकी क्षेत्रको प्रस्तावित गुरुयोजना अनुसार एक हजार व्यक्तिलाई आवास सुविधा हुने गरी धर्मशाला निर्माण गर्ने, घाट व्यवस्थापन गर्ने, एक हजार क्षमताको सभाहल निर्माण, पाठशाला, यज्ञशाला, गौशाला निर्माण गर्ने योजना रहेको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका संरक्षक शङ्करप्रसाद पाण्डेले बताउनुभयो । मेला सम्पन्न गर्न को लागि कालीगण्डकी क्षेत्रसँग नजिकमा रहेका १९ वटा स्थानीय तह र दाताहरूको सहयोग रहने उहाँले पाण्डेले जानकारी दिनुभयो । महामेलाले यसका लागि सहयोग पु¥याउने उहाँको भनाइ छ ।
आयोजकका अनुसार महामेलामा महामेलामा सहभागी हुने भक्तजनलाई देवघाट, रुरुक्षेत्र, सेतीवेणी शीला, मुक्तिनाथ लगायतका तीर्थस्थल दर्शनको व्यवस्था मिलाइएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका कार्यवहाक अध्यक्ष मुक्तिप्रसाद न्यौपाने, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराई लगायतले मेलाको व्यवस्थापनलाई प्रभावकारी बनाउन सुझावसहित मेला सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका संरक्षक शंकर प्रसाद पाण्डेको अध्यक्षता र मूल आयोजक समितिका सचिव नारायण प्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । कालीगण्डकीको ३ दशमलव ५ किलोमिटर उत्तरवाहिनी क्षेत्रलाई पवित्र क्षेत्र मानिन्छ । मेला आयोजक समितिले विभिन्न मन्दिर क्षेत्रमा जानको स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिनडाँडा, रम्भा गाउँपालिका–१ हुँगी हुँदै छोटो बाटोको प्रयोग गरी जान सकिने पनि जानकारी दिएको छ ।










