पाल्पा २५ असोज ।
सम्मानित निजी क्षेत्र ः समुन्नत नेपाल भन्ने भन्ने मूल नाराका साथ पाल्पा उद्योग वाणिज्य संघको ७१ औं साधारण सभा तथा १७ औं अधिवेशन शनिबार शुभारम्भ भएको छ । संघका अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेम राज ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

महासचिव समिरमान सिंहले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष शैलेन्द्र भट्टराईले संघबाट सम्पादित कार्यक्रम र संघले लिएका लक्ष्यका विषयमा जानकारीसहित सहभागीलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरूले आर्थिक मन्दिको प्रभाव व्यापार व्यवसायमा परेका कारण व्यवसायीहरूको संख्या घट्दै गइरहेको बताएका छन् । कार्यक्रमका वक्ताहरूले पर्यटनलाई अगाडि सारेर व्यवसायीलाई लगानी मैत्री बातावरण बनाउन सकेमा उद्योगीहरूलाई राहत हुने बताए छन् । संघका पूर्व अध्यक्षहरूले संघको उपलब्धि र आगामी योजनाका बारेमा धारणा राख्नुभएको थियो । सहभागी अन्य पाहुनाहरूले संघको गतिविधिप्रति सकरात्मक प्रतिक्रिया दिएका थिए ।
साधारण सभामा आर्थिक, प्रशासनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । संघका अध्यक्ष शैलेन्द्र भट्टराईले पछिल्लो समय राजनीतिक अस्थिरता र सरकारको निजी क्षेत्रप्रति अस्पट नीतिका कारण व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न अत्यन्त कठिन परिस्थितिको सामना गर्नुपरेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीको हक हितको लागि आवश्यक समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । संघका महाससचिव समिरमान सिंहले संघबाट सम्पादित ५१ वटा गतिविधिबारे जानकारी गराउँदै पाल्पा उद्योग वाणिज्य संघ व्यवसायीमैत्री बन्दै अगाडि बढ्दै गएको बताउनुभयो ।
साधारण सभा समुद्घाटन समारोहमा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, नेपाली कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरे, नेकपा एमालेका उपाध्यक्ष विमल काफ्ले, नेकपा माओवादी केन्द्र पाल्पा जिल्ला इन्चार्ज नेत्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष सुमन गैरेले पाल्पाको शिक्षा, स्वास्थ्य, पर्यटन र खानेपानी व्यवस्थापनमा संघको योगदान महत्त्वपूर्ण रहेको भन्दै जिल्लाको विकासको लागि निजी क्षेत्रले मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
यस्तैगरी कार्यक्रममा राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवर, नेकपा समाजवादी पाल्पा अध्यक्ष अशोक कुमार शाही, राष्ट्रिय जनमोर्चा पाल्पा सहसचिव नरमति सिंजाली, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, पाल्पा व्यापार संघका महासचिव तुलबहादुर अधिकारी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, लगायतले व्यवसायीको हकहितको लागि जुट्न संघलाई शुझाव दिनुभयो । कार्यक्रमकै अवसमा पूर्व अध्यक्षहरूको परिवारले संघको लागि अक्षयकोष प्रदान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूलाई संघको अक्षयकोषबाट सम्मान गरिएको थियो ।









