पाल्पा ।
जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत प्रहरीहरूको निःशुल्क आँखा जाँच गरी चश्मा वितरण गरिएको छ । विश्व दृष्टि दिवस २०८२ को अवसरमा असोज २३ गते विहिबार नेपाल नेत्र ज्योति संघ तथा पाल्पा लायन्स लाकौल आ“खा अस्पतालको आयोजनामा तानसेनमा रहेका ८० जना प्रहरीहरूको निःशुल्क आँखा जाँच गरिएको हो ।


कार्यक्रममा अस्पतालका नेत्र विशेषज्ञ डाक्टर राजिव केसीले आँखा रोग र बच्ने उपाय बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको उद्देश्य तथा स्वागत उपाध्यक्ष भिमसेन कार्की, सचिव राजेन्द्र लिगलको सञ्चालन र अध्यक्ष बुद्धि प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अस्पतालमा आएका विरामीहरूलाई फलफूल वितरण पनि गरिएको थियो ।
कार्यक्रम पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुको आँखा जाँच गरी शुरु गरिएको थियो। कार्यक्रममा प्रहरीहरूलाई आ“खा जा“च गरी चश्मा वितरण गरिएको थियो ।

सो कार्यक्रममा अस्पतालका बजिर जंग रायमाझी, मिन बहादुर कार्की र शभ्भु आचार्यले प्राविधिक सहयोग गर्नुभएको सचिव राजेन्द्र लिगलले जानकारी दिनुभयो। दैनिक जनताको सेवामा खटिने प्रहरीलाई सहज र सरल होस् भन्ने उद्देश्यले निःशुल्क आँखा जाँच गरी चस्मा वितरण गरिएको नेत्र ज्योति संघ पाल्पाका अध्यक्ष बुद्धिप्रसाद शर्माले जानकारी दिनुभयो ।
सोही अवसरमा प्रहरी प्रमुख थारुले दिवसको अवसर पारेर प्रहरीहरूको निःशुल्क आँखा जाँच गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।










