गौरवको कालीगण्डकी वृहत लिफ्ट खानेपानी योजना समयमा सम्पन्न गर्न सुझाव
पाल्पा, २६ असोज ।
गाउँघरमा पानीका मुहान खडेरीले सुक्दै जान थालेपछि बगनासकाली गाउँपालिकाका स्थानीयले उपभोक्ता समिति बनाएर कालीगण्डकीको पानी लिफ्ट गरी सवै वडामा खानेपानी आपूर्ति सहज बनाउने सपना देखे । वि.सं. २०७६ सालमा बगनासकालीमा कालीगण्डकी वृहत लिफ्ट खानेपानी योजना गठन भई काम सुरु पनि भयो । उपभोक्ता समिति र स्थानीय तहको समन्वय नहुँदा र बजेट अभावका कारण उक्त योजनाले अझैसम्म पूर्णता पाउन सकेको छैन । स्थानीय तहलाई उपभोक्ता समितिले समस्या नबताउने र उपभोक्ता समितिले पनि स्थानीय तहसँग नियमित परामर्श नगर्दा योजनाको कामले गति लिन नसकेको हो ।


स्थानीय तहमा देखिएको खानेपानीको समस्यालाई सहज बनाउने उद्देश्यले पछिल्लो समय भने जनप्रतिनिधि र सरोकारवाला निकायले चासो बढाएका छन् । यसैबीच आइतबार गाउँपालिकाले पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवाला निकायसँग खानेपानी योजनाको प्रगति समीक्षा र भावी कार्ययोजनाको विषयमा अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न गरेको छ । छलफलमा सहभागी वक्ताले खानेपानीको समस्या समाधानको लागि स्थानीय उपभोक्तालाई योजनाको लागत र अवस्थाबारे जानकारी गराउनुपर्ने र समयमै योजना सम्पन्न गर्न उपभोक्ता समितिले सक्रियता बढाउनुपर्नेमा जोड दिएका छन् ।
गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले गौरवको वृहत खानेपानी लिफ्ट योजना सञ्चालनमा आइपरेका समस्यामा साझारूपमा छलफल गरी समाधान गर्न सकिने बताउनुभएको छ । गाउँपालिकाबाटै उक्त योजनामा बजेट राखी काम थाल्दा सजिलो र छिटो सम्पन्न हुने ठानेर अघिल्लो कार्यकालमै २५ लाख पालिकाको बजेटबाट काम थालनी भएको अध्यक्ष चिदीको भनाई छ । यस वर्ष संघीय विशेष अनुदानबाट ६८ लाख र प्रदेश सरकारबाट १५ लाख बजेट विनियोजन भएकाले बजेट कार्यान्वयन गर्दै कामलाई अगाडि बढाइने बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले कालीगण्डकी बृहत लिफ्ट योजना गौरवको योजना भएकाले सवैले प्राथमिकतामा राखेर काम सम्पन्न गर्न सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । आयोजना सम्पन्न गर्न २५ करोडको पूर्व अनुमान भएपनि हालसम्म ४ करो १८ लाखको काम भएकोले बाँकी काम अगाडि बढाउन सरोकारवाला निकायबाट प्राप्त सुझावलाई आत्मसाथ गर्दै कामलाई गति दिने बताउनुभयो ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्ण बस्यालले डाँडाभेगमा पानीको समस्या भएकाले समयमै योजना सम्पन्न गर्न विद्युत, खानेपानी, उपभोक्ता समिति र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको औंल्याउनुभयो । उहाँले सात वर्षमा ३० प्रतिशत काम भएकाले थप कामलाई पूरा गर्न समितिको सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा उपभोक्ता समितिका पूर्व अध्यक्ष ध्रुव अधिकारी, वर्तमान समितिका कोषाध्यक्ष ढकेश्वर बस्याल, खानेपानी कार्यालयका कर्मचारी लगायतले दलीय स्वार्थभन्दा माथि उठेर सक्रिय समिति बनाई कामलाई गतिदिनुपर्ने बताउनुभयो । राजनीतिक सन्तुलन मिलाउनेगरी उपभोक्ता समिति गठन गर्नुभन्दा राजनीतिक स्वार्थभन्दा माथि रहेर सक्रिय रहने व्यक्तिलाई समितिमा राखेर काम अगाडि बढाउनुपर्नेमा समितिका पदाधिकारीको सुझाव छ ।
छलफलमा नेपाली काँग्रेस बगनासकालीका अध्यक्ष यमलाल तिमिल्सिना, नेकपा एमाले बगनासकाली अध्यक्ष डेन्जिङ रायमाझी, नेकपा माओवादीका बगनासकाली अध्यक्ष खुमबहादुर वि.क., जसपाका खिमबहादुर रेश्मी, पूर्व जनप्रतिनिधि टेकनाथ शर्मा, गणेश बस्याल, कार्यपालिका सदस्य गीता रेग्मी लगायतले डाँडाभेगमा खानेपानीको समस्या बढ्दै गएकाले समयमा योजना सम्पन्न गरी जनताको विश्वास जगाउनुपर्नेमा जोड दिनुभयो । सवै वडामा खानेपानीलाई सहज रूपमा उपलब्ध गराउन सकेमा जनस्तरमा जनप्रतिनिधिप्रतिको भरोसा बढ्ने र गौरवको योजनाले सार्थकता पाउने सहभागीहरूको भनाई थियो ।
बैठक गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षता र प्रशासकीय अधिकृत सुजन घिमिरेको सञ्चालनमा चलेको थियो । सोही अवसरमा खानेपानी कार्यालय पाल्पाले हालसम्म पाइपलाइन र विद्युतको काम पूरा भएको र बाँकी कामको लागि समितिले सक्रियता बढाउनुपर्ने र आवश्यक बजेट व्यस्थापनमा लाग्नुपर्ने जानकारी दिएको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, खानेपानी कार्यालयका कर्मचारी, विभिन्न खानेपानी उपभोक्ता समितिका पदाधिकारी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
योजना सम्पन्न भएपछि बगनासकालीका वडा नं. १ देखि ९ सम्मका वडाले लाभ लिन सक्नेछन् । गाउँपालिकाको वडा नं. ९ बगनासडाडाँमा टंकी निर्माण गरी सवै क्षेत्रमा वितरण सहज हुने गरी योजना अगाडि बढाउन सहभागीले सुझाव दिएका छन् ।









