
पाल्पा, ३० असोज ।
गाउँपालिकाभित्रका सहकारीहरूलाई सक्षम र भरपर्दो बनाउन बगनासकाली गाउँपालिकाले विहिबार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारी सम्बद्ध सरोकारवाला निकाय र बगनासकाली गाउँपालिकाको नियमन क्षेत्रभित्रका संस्थाका समस्या, चुनौती, अवस्था र अवसरबारे छलफल गर्न एकदिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् सहकारी शाखा प्रमुख यादव प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

बगनासकाली गाउँपालिका सहकारी शाखाले संयोजन गरेको कार्यक्रममा सहकारी शाखा प्रमुख न्यौपानेले वित्तीय स्रोत परिचालन तथा कोष व्यवस्थापन, रिर्पोटिङ्ग प्रक्रिया र प्रशासकीय अधिकृत सुजन घिमिरेले सहकारी ऐन, नियम, विनियम लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमका सहभागीहरूले केही दुग्ध सहकारीलाई ढुवानी अनुदान लिन मापदण्ड पु¥याउन मुश्किल भएको, बसाइसराई र उमेर हदबन्दीका कारणले सहकारीहरूमा सदस्य संख्या घट्दै गएको बताएका थिए । ठूला सहकारीले साना सहकारीलाई चेपुवामा पारेको गुनासो गर्दै सहभागीले व्यक्तिगत रूपमा राम्रो कृषि उद्यम सञ्चालन गर्ने कृषकलाई मापदण्ड बनाएर उचित अनुदान र सहुलियत ऋणको व्यवस्था गर्न सुझाव दिएका थिए ।

यस्तै मूल बिउ छर्ने कृषि समुहहरूलाई ल्याव परीक्षणमा समस्या रहेको, कृषि सहकारीहरूलाई सञ्चालन गर्न मात्र सकिएको तर फाइदा जुटाउन मुश्किल भएकोले आवश्यक सहजीकरण आवश्यक रहेको सहभागी सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिले गुनासो गरेका थिए ।
गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले आन्तरिक स्रोतको कमी हुँदै गर्दा पनि साना तथा मझौला पशुपालक र कृषि क्षेत्रमा आवद्ध किसानलाई मापदण्ड र नियमानुसार अनुदान तथा कार्यक्रम उपलब्ध गराउँदै आएको जानकारी गराउनुभयो । उहाँले गाउँपालिकाभित्रका सबै सहकारी सक्षम भएमा बगनासकालीले सहजरूपमा समृद्धी हासिल गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले ग्रामीण क्षेत्रमा रहेर पनि धेरैजसो सहकारीले समयमै लेखारीक्षण र साधारण सभा सम्पन्न गर्नुले सहकारी संस्थाहरू अनुशासित र पारदर्शी रहेको पुष्टि गरको बताउनुभयो । उहाँले गाउँपालिकाभित्रका सहकारीहरूको आवश्यक सुधार र सशक्तिकरणका लागि सहभागीहरू सुझाव अनुसार कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

सहकारी सञ्जालका अध्यक्ष पशुपती बस्यालको अध्यक्षता र योजना शाखा प्रमुख भरतराज घिमिरेको सञ्चालनमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा गाउँपालिकाभित्र रहेका तीन दर्जन सहकारी प्रतिनिधिहरूको सहभागिता थियो । बगनासकाली गाउँपालिकाभित्र स्थानीय र प्रदेशमा आवद्ध गरी ३७ वटा सहकारी रहेका छन् ।








