भोजराज भट्टराई,
पाल्पा ३१, असोज ।
जिल्ला प्रशासन कार्यालय, पाल्पाले तिहार तथा छठको अवसरमा शुभकामना सन्देश जारी गर्दै चाडपर्वलाई मर्यादितरूपमा मनाउन सवैमा अनुरोध गरेको छ ।

प्रशासनले असोज ३० गते बिहिबार एक सूचना जारी गर्दै दिपावली तथा छठ जस्ता चाडपर्व मनाउने क्रममा मैनबत्ती, पाला एवम् विद्युतीय उपकरण बाल्ने क्रममा आगलागी भई विपद्का घट्ना घट्न सक्ने हुँदा संयमता अपनाउदै चाडपर्व मर्यादित रूपमा मनाउन अनुरोध गरेको हो ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी ऋषिराम सुवेदीद्वारा हस्ताक्षरित सूचना अनुसार कसैले प्रचलित कानून विपरितको कार्य गरेको पाइएमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत उल्लेख छ । उक्त सूचना अनुसार जिल्ला प्रशासन कार्यालय पाल्पाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रम गर्नका लागि बिहान ७ बजेदेखि राती १० बजेसम्मको समय निर्धारण गरिएको छ ।
प्रशासनले चाडपर्वका बेला प्रचलित कानूनले बर्जित गरेका जुवातास खेल्न/खेलाउन तथा समाजमा आतङ्क सिर्जना गर्ने गरी भुईचम्पा, पटाका, आतसबाजी सामग्री बिक्री वितरण नगर्न/नगराउन पनि अनुरोध गरेको छ । यस्तैगरी चाडपर्वका समयमा शान्ति सुरक्षामा असर पर्ने गरी मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानहरूमा हो–हल्ला, भिडभाड तथा हुलहुज्जत गतिविधि नगर्न नगराउन सर्वसाधारणको लागि अनुरोध गरिएको छ ।
यसका साथै बजामा म्याद गुज्रेका भाईमसला, अखाद्य वस्तु, रङ मिसाइएका मिठाइ लगायतका अस्वस्थ खाना र गुणस्तरहीन वस्तुहरुको विक्री वितरण एवम् उपभोग नगर्न/नगराउन सूचना जारी गरी अनुरोध गरिएको छ ।









