भोजराज भट्टराई,
पाल्पा, १ कार्तिक
शनिबार यहाँको श्रीनगर सांस्कृतिक डबलीमा मौलिक देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । ‘ओपन थिएटर’ को अवधारणामा बनेको श्रीनगर सांस्कृतिक डबलीको गुलजार बढाउन र मौलिक कलासंस्कृतिको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, पाल्ल्पाले ‘मौलिक देउसी भैलो कार्यक्रम’ को आयोजना गरेको हो ।

नेपालीहरूको दोस्रो महान पर्व तिहार पर्वको सँघारमा आयोजना गरिएको कार्यक्रममा डबली भरी दर्शक थिए । दिग्गज गायक तथा संगीतकार नारायण रायमाझी, नारायण लेकाली, हुम गैरेसहित अन्य स्थानीय कलाकारले देउसी भैलो, नृत्य र एकल प्रस्तुती राखेका थिए ।

लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व सांसद सोमप्रसाद पाण्डे, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ लगायतले तानसेनमा श्रीनगर डबली निर्माण हुँदा पर्यटन आगमनमा समेत टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अन्य वक्ताहरूले डबलीको उचित प्रयोग गरी यहाँका कला संस्कृति र पर्यटनको विकास गर्न सुझाव दिएका थिए ।
प्राय नेताहरू भाषण गर्छन् भन्ने दर्शकको आँकलनलाई पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले गतल सावित गर्नुभयो । मञ्चमा पुग्नासाथ देउसी भैलो भट्याएर उहाँले दर्शक र आयोजकलाई आकर्षित गर्नुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, पाल्पाका अध्यक्ष कमल भट्टराईको अध्यक्षता पवन बस्यालको सञ्चालनमा भएको सांस्कृतिक कार्यक्रममा साँझ ५ बजेदेखि ९ बजेसम्म दर्शको भीड लागेको थियो ।
तानसेनमा रहेको श्रीनगर सांस्कृतिक डबलीमा स्टेज, हरियो दुबोसहितको दर्शक कक्ष, कलाकारको चेन्जिङ रुम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्कीङ्कसहितको सुविधा रहेको छ । डबलीको क्षमता पाँच सय जना रहेको छ । तानसेन आफैमा पर्यटकीयस्थल रहेकाले त्यसको विकास र विस्तारको लागि डबली महत्वपूर्ण हुने तानसेन वडा नं. ५ का अध्यक्ष रामवहादुर रावलले बताए । सांस्कृतिक कार्यक्रममा तानसेन नगरपालिका, वडा नं. ५ सहित दर्शकबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।










