पाल्पा, १० कार्तिक ।
पोखराथोक साहित्य संगम पाल्पाले रजत जयन्ती मनाएको छ । वि.सं. २०५७ असोज १२ गते बगनासकाली–२ पोखराथोक पाल्पामा स्थापना भएको संगमले रजत जयन्ती विशेष कार्यक्रम गरी मनाएको हो । सोमबार विशेष समारोह आयोजना गरी मनाइएको कार्यक्रमकै अवसरमा संगमले रजत जयन्ती विशेषाङ्क ‘बाटिका’ को २४ औं अंक समेत सार्वजनिक गरेको छ ।

बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीको प्रमुख आतिथ्यतामा आयोजित रजत कार्यक्रममा लुम्बिनी, गण्डकी र बाग्मति प्रदेशबाट विशिष्ट साहित्यकारहरूको समेत उपस्थिति रहेको संगमका अध्यक्ष गोविन्द खनालले जानकारी दिनुभयो ।
रजत जयन्तीको अवसर पारेर दुई दर्जन स्रष्टा तथा साहित्यकार तथा अक्षयकोष दातालाई सम्मान गरिएको थियो । साहित्यको क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएका १२ स्रष्टा र १४ जना आजीवन सदस्य तथा अक्षयकोष दाता गरी २६ जनालाई संगमले सम्मान पत्र, दोसल्लासहित सम्मान गरेको हो । सम्मानित स्रष्टामा डा. घनश्याम न्यौपाने (नवलपरासी), गंगानाथ कोइराला (दाङ), कृष्ण प्रसाद कोइराल (रुपन्देही), केशवराज अमोदी (चितवन), विजय गोविन्द श्रेष्ठ (रुपन्देही), भोजराज भट्टराई (पाल्पा), सकुन्तला ज्ञवाली (कपिलवस्तु), गोपाल प्रसाद बस्याल (पाल्पा), विश्वनाथ रेग्मी, हरिप्रसाद भट्टराई, शंकर नेपाल (पाल्पा) रहनु भएको छ ।
सम्मानित स्रष्टाहरूलाई प्रमुख अतिथि सरस्वती चिदी दर्लामी, संगमका अध्यक्ष गोविन्द खनाल, बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, नेपाली लेखक संघका केन्द्रीय सल्लाहकार डा. कृष्णराज डि.सी लगायतले सम्मान पत्र प्रदान गर्नुभएको थियो । सम्मानित स्रष्टालाई शुभकामना मन्तव्य राख्दै बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बगनासकालीभित्रका साहित्यकार गाउँपालिकाले गहना रहेको जनाउँदै स्थानीय सरकारले भाषा, कला, साहित्यको विकासको लागि निरन्तर सहयोग, समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो ।

उहाँले साहित्यमा नयाँ पुस्तकोको आकर्षण र प्रोत्साहन गर्न सकेमा साहित्यले पुस्तान्तरण गर्ने र नयाँ सर्जकको सक्रियता बढ्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, साहित्यकार रामप्रसाद अर्याल, केशवराज अमोदी, डा. घनश्याम न्यौपाने, पुष्कर अथक रेग्मी, कृष्णप्रसाद कोइराला, सकुन्तला पौडेल, डा. कृष्णराज डि.सी., शशी पन्थी, विश्वनाथ गैरे लगायतले समाजलाई सहि दिशा निर्देश गर्न साहित्यको महत्त्वपूर्ण भूमिका र योगदान रहेकोमा जोड दिनुभएको थियो ।
सम्मानित स्रष्टाहरूले पोखराथोक साहित्य संगमले पाल्पाको पहिचान बढाउँदै स्रष्टासम्मानलाई निरन्तरता दिएकोमा संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा पाल्पा, स्याङ्जा, रुपन्देही, गुल्मी, कपिलवस्तु, दाङ, चितवन, नवलपरासीबाट १०० जनाभन्दा बढी स्रष्टा साहित्यकारहरू उपस्थिति रहनुभएको थियो । संगमका अध्यक्ष गोविन्द खनालले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष अग्नीराज न्यौपानेले ९ लाख ५७ हजार ८ सय ८२ रुपैयाँको आय व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
पोखराथोक साहित्य संगमको रजत जयन्ती विशेषाङ्कको साहित्यकार रामप्रसाद अर्यालले समीक्षा गर्नुभएको थियो । साहित्य संगमका सहसचिव गीता रेग्मीको सञ्चालन र गोविन्द खनालको अध्यक्षतामा कार्यक्रम भएको हो ।










