पाल्पा, १६ कार्तिक ।
जेनजी युवाको आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार भएका एक कैदीबन्दी पाल्पामा पक्राउ परेका छन् ।

गत भदौ २४ गते कारागारबाट फरार भएका ३५ वर्षीय रुद्रप्रसाद न्यौपाने पूर्वखोला गाउँपालिका–३ स्थित आफ्नै घरबाट पक्राउ परेका हुन् । पूर्वखोला–३ पाल्पा घर भएका न्यौपाने बैंकिङ्ग कसुर मुद्दाका फरार कैदी बन्दी हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाको निरन्तर निगरानी तथा गोप्य सूचनाका आधारमा कार्तिक १६ गते दिनको १ बजेको समयमा इलाका प्रहरी कार्यालय पूर्वखोला पाल्पाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले घरवतनमा फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।










