भोजराज भट्टराई
पाल्पा, १७ कार्तिक ।
पाल्पाको बगनासकाली गाउँपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । वडाबाटै योजना सम्झौता हुन थालेपछि उपभोक्ता समितिलाई सहज भएको छ ।

गाउँसभाबाट विनियोजित भएका पालीकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले जानकारी दिनुभयो । उपभोक्ता समितिले योजना सम्झौतापश्चात् अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै गाउँपालिका कार्यालयमा आए पुग्ने र एउटै कामका लागि पटक–पटक आइरहन नपर्ने भएकाले उपभोक्तालाई समय र खर्चको बचत सँगै काममा सहज हुने उहाँले बताउनुभयो ।
उपभोक्ताको समितिहरूको सहजताको लागि कार्तिक १६ देखि २५ गतेसम्म वडामै पुगेर गाउँपालिकाबाट योजना सम्झौताको कामलाई अगाडि बढाएको प्रमुख प्रशासशीय अधिकृत खेमराज छिनालले बताउनुभयो ।

सम्बन्धित वडामा गाउँपालिकाबाट योजना शाखा प्रमुख, इन्जिनियर योजना शाखाका सहायक कर्मचारीसहितको टोली पुगेर सम्बन्धित वडाध्यक्ष, सचिव, प्राविधिक तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीबीच कार्य सम्झौता गर्ने कार्य भएको प्रशासकीय अधिकृत तथा योजना शाखा प्रमुख भरतराज घिमिरेले बताउनुभयो । वडाबाटै योजना सम्झौता गर्दा काम समयमै र छिटोछरितो ढंगले सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि गाउँपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा–वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको योजना शाखा प्रमुख घिमिरेले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार गाउँपालिकाका अनुसार वडा नं. १ र २ मा योजना सम्झौताको काम सम्पन्न भइसकेको छ भने बाँकी रहेका वडामा क्रमशः सम्झौता गरिनेछ । कार्तिक १६ गते वडा नं. १ चिर्तुङ्गधारामा १७ वटा र १७ गते सोमबार वडा नं. २ मा ९ वटा योजना सम्झौता भएको शाखा प्रमुख घिमिरेले बताउनुभयो । गाउँपालिकामा तीन सय वटा योजनाहरू रहेकोमा वडातहबाट दुई सय बढी योजना सम्झौता हुने आँकलन गरिएको छ । कार्तिक १६ गतेदेखि सञ्चालन भएको योजना २५ गते सम्म चल्ने गाउँपालिकाले जनाएको छ । वडातहमा सम्झौता छुट भएका योजना गाउँपालिकाबाट सम्झौता हुने बताइएको छ ।










