भोजराज भट्टराई
पाल्पा, २१ कार्तिक ।
तानसेन–३ मा रहेको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत महोत्सव सम्पन्न गरेको छ । रजत महोत्सवको सन्दर्भ पारेर सहकारीले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको थियो । शुक्रबार तानसेनमा एक समारोहको आयोजना गरी रजत महोत्सव एवम् २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।


रजत महोत्सव सभाका प्रमुख अतिथि तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले नगरपालिकामा रहेका ५४ सहकारीमध्ये मणिमुकुन्द सहकारीले उत्कृष्ट काम गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । नगरप्रमुख श्रेष्ठले सहकारीको पूँजीलाई उत्पादन क्षेत्रमा लगाउँदै अगाडि बढ्न आग्रह गर्दै मणिमुकुन्द सहकारीमार्फत सहकार्य, समन्वय गर्न तानसेन नगरपालिका सकारात्मक रहेको बताउनुभयो ।
सहकारीका अध्यक्ष मधुदयाल सैंजुको अध्यक्षतामा भएको सभामा सहकारीका संस्थापक अध्यक्ष हेमन्तराज शाक्य, सञ्चालक समितिका सदस्य सुवर्णमुनि शाक्य, लक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्ष हरि रायमाझी लगायतले मन्तव्य राख्नुभएको थियो । सहकारीका उपाध्यक्ष सुशीलप्रसाद प्रधानले स्वागत मन्तव्य तथा सदस्य बुद्धरत्न शाक्यले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष मधुदयाल सैंजुले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन सचिव सञ्जयराज शाक्यले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानु कार्कीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मन पारित गरिएको थियो । सभामा सहकारीका जेष्ठ सदस्यहरू, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरू, उत्कृष्ट वचतकर्ता, कर्मचारीहरूलाई सम्मान गरिएको सचिव सञ्जयराज शाक्यले बताउनुभयो ।
रजत महोत्सवमा मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाका जन्मदाता सुरेन्द्र मुनी शाक्यलाई मरणोपरान्त सम्मान गरिएको थियो । यस्तैगरी उत्कृष्ट कारोबारीमा सन्तु देवी श्रेष्ठ, महेन्द्रमान राजलवट, शिव प्रसाद बस्याललाई सम्मान गरिएको थियो । उत्कृष्ट बचतकर्तातर्फ रामप्रसाद पन्थी, विनित श्रेष्ठ, विजया महर्जलाई मायाको चिनो, दोसल्लासहित सम्मान गरिएको थियो । सोही अवसरमा वक्तृत्वकलाका निर्णायक भुपती पाण्डे र पुष्कर अथक रेग्मीलाई समेत मायाको चिनोसहित सम्मान गरिएको थियो ।
यसैबीच रजत महोत्सवको सन्दर्भमा सहकारीले पाल्पा शिविआरमा रहेका फरक क्षमता भएका बच्चाहरूको लागि २५ हजार बराबरको अक्षयकोष प्रदान गरेको छ । यस्तै भगवती मन्दिर गुठीको लागि समेत सहकारीले १० हजार सहयोग गरेको छ । रजत महोत्सवकै सन्दर्भमा आयोजित वक्तृत्वकलामा प्रथम हुने मोहन कन्या मा.वि.का पुष्पा पाण्डेलाई नगद पाँच हजार, प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगितामा दोस्रो हुने पाल्पा प्यारागन बोर्डिङ स्कुलका केकी अधिकारीलाई नगद तीन हजार र प्रमाणपत्र, तृतीय हुने देव वाणी मा.वि.का स्वस्तिका पाण्डे नगद २ हजार र प्रमाण पत्र र सान्त्वना हुने जनता मा.वि.का समिक्षा थापालाई नगद १ हजार र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
२०५८ सालमा २५ जना शेयर सदस्यबाट जनही १० हजार रुपैंया जम्मा गरी २ लाख ५० हजार शेयरपूँजीबाट सञ्चालन भएको सहकारीमा हाल २ हजार ६ सय बढी शेयर सदस्य र ३९ करोड बढीको कारोबार रहेको सहकारीले जनाएको छ । रजत महोत्सवको अवसरमा रजत स्मारिका विमोचन समेत सार्वजनिक गरिएको थियो । स्मारिकामा सहकारीको गतिविधि र सहकारी सम्बन्धी विभिन्न व्यक्तिहरू लेख रचना समावेश रहेको सचिव सञ्जयराज शाक्यले जानकारी दिनुभयो ।













