भोजराज भट्टराई
पाल्पा, २२ कार्तिक ।
तानसेन–३ स्थित पाल्पा रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भिमसेन कार्कीको अध्यक्षतामा भएको सो सभामा संस्थापक अध्यक्ष हिराबहादुर शाहको प्रमुख आतिथ्य थियो ।

सहकारीका अध्यक्ष कार्कीले सहकारी संस्थाका शेयर सदस्यबीच सहकार्य गरी सहकारीका सिद्धान्त आत्मसाथ गर्दै सहकारी नाफामूलक भन्दा सेवामूलक हुन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले सहकारीमा वित्तीय सुशासन कायम राख्न सहकारीको मूल्य, मान्यता अनुसार शेयर सदस्यमैत्री विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएको अवगत गराउनुभयो ।
शहकारीमा जगेडा कोषमा १ करोड ५० लाख २२ हजार तथा अन्य कोष अन्र्तगत १ करोड २३ लाख र भवन निर्माण कोषमा १ करोड ५० लाख रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार २० करोड ३६ लाख १७ हजार कूल पूँजी रहेको सहकारीले आ.व.२०८१÷०८२ मा ३५ लाख ७९ हजार ८ सय ७५ रुपैंया नाफा रहेको छ । संस्थाले शेयर सदस्यको परिवारको लागि निःशुल्क ब्लड डोनेशन, महिला उद्यमी कार्यक्रममार्फत विना धितो समूहमा लगानी, उत्कृष्ट शैक्षिक सम्मान लगायतका कार्यक्रम गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि हिराबहादुर शाहले सहकारीको मूख्य भावनालाई आत्मसाथ गरी उद्यमशिलताको क्षेत्रमा लगानी बढाउन शेयर सदस्यहरूलाई आग्रह गर्नुभयो । उहाँले लगानीलाई आय आर्जनमा जोड्न सकेमा शेयर सदस्यको आर्थिक अवस्थामा सुधार हुन सक्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष भिमसेन कार्की, कोषाध्यक्ष यज्ञ प्रसाद श्रेष्ठ आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ती प्रतिवेदन सभाबाट सर्वसम्मत पारित भएका थिए । कार्यक्रममा शेयर सदस्यको तर्फबाट रीता थापा, ज्येष्ठ नागरिक धर्मचक्र नेपाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा संस्थापक अध्यक्ष हिराबहादुर शाह र एस.ई.ई.मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्य परिवारबाट दिया कार्कीलाई सम्मान गरिएको कार्यालय प्रमुख प्रकाश रेग्मीले जानकारी दिनुभयो । संस्थाका सचिव अजयमान कर्माचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य विजिता भट्टराईले गर्नुभएको थियो ।










