पाल्पा, २४ कार्तिक ।
पाल्पाको बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाललाई विदाई गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि छिनालको गाउँपालिकाबाट विदाइ गरिएको हो ।


बगनासकाली गाउँपालिका पाल्पामा २०८१ श्रावण २ गते बुधबारदेखि २०८२ साल कार्तिक २४ गते सोमबारसम्म प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यभार सम्हालेका खेमराज छिनाललाई सोमबार गाउँपालिकाका उपाध्यक्ष एवम् कार्यवहाक अध्यक्ष हरिप्रसाद पाठक, प्रवक्ता टिकाबहादुर थापा, कार्यपालिका सदस्यहरू र विभिन्न शाखामा कार्यरत कर्मचारीको उपस्थितिमा विदाई तथा फेरी भेटौंला कार्यक्रम आयोजना गरी विदाई गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष एवम् कार्यवहाक अध्यक्ष हरिप्रसाद पाठक, प्रवक्ता टिकाबहादुर थापा, कार्यपालिका सदस्य, गाउँपालिका कर्मचारी लगायतले सम्मान–पत्रका साथ मायाको चिनो प्रदान गरी विदाई गर्नुभएको थियो ।

विदाई सभामा बोल्दै गाउँपालिकाका उपाध्यक्ष एवम् कार्यवहाक अध्यक्ष हरिप्रसाद पाठकले प्रशासकीय अधिकृतको १६ महिने कार्यकाल सुखद रहेको औंल्याउनुभयो । उहाँले प्रमुख प्रशासकीय अधिकृतको सन्तुलनकारी भुमिका र गाउँपालिकामा कुशल कार्यसम्पादनसहितको योगदानको कदर गर्दै आगामी दिनमा निरन्तर सम्पर्क समन्वयमा रहन आग्रह गर्नुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत छिनालले जनप्रनिधि, कर्मचारीवी र सेवाग्राहीसँगको सहज वातावरणमा कार्यसम्पादन गर्न सुखद् अवसर मिलेको भन्दै गाउँपालिकामा रहँदा सिकेका अनुभवले आफ्नो जीवनको वृत्ती विकासमा सहयोग पुगेको अवगत गराउनुभयो ।
सोही अवसरमा प्रवक्ता टिका बहादुर थापाले गाउँपालिकामा रहेर सहज वातावरणमा कुशलतापूर्वक कार्यसम्पादन गरेकोमा आभार व्यक्त गर्दै थप प्रगतिको लागि शुभेच्छा व्यक्त गर्नुभयो । आलेप अधिकृत यादप प्रसाद न्यौपानेले गाउँपालिकामा मित्रवतरूपमा काम गर्ने अवसर जुरेको भन्दै आगामी दिनको वृत्ति विकासको लागि शुभेच्छा व्यक्त गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष एवम् कार्यवहाक अध्यक्ष हरिप्रसाद पाठकको अध्यक्षता र प्रशासकीय अधिकृत सुजन घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।










