२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

मिसन अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन

भोजराज भट्टराई
पाल्पा,परेवा/पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालले मुटु तथा स्नायु सेवा सहितको अत्याधुनिक सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ। युनाइटेड मिसन टु नेपाल ट्रस्टले झण्डै ७ करोड रुपैंया खर्चिएर खरिद गरेको कार्डियाक सेवासहितको सिटिस्क्यान मेसिनबाट सेवा दिन थालेको हो ।

कार्तिक २८ गते शुक्रबार लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले औपचारिक कार्यक्रमबीच सिटीस्क्यान सेवाको उद्घाटन गर्नुभएको हो। सेवा शुभारम्भ सभामा बोल्दै स्वास्थ्यमन्त्री सारुले पाल्पासहित सेरोफेरोका जिल्ला र छिमेकी मुलुक भारतका नागरिकले समेत मिसन अस्पतालबाट सहज र सर्वसुलभ रूपमा सिटीस्क्यान सेवा पाउने बताउनुभयो । उहा“ले सेवाग्राहीको मन छुनेगरी सेवा गर्दै आएकोले मिसन अस्पतालप्रति धेरै मानिसको विश्वास रहेको भन्दै आगामी दिनमा आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य विमा लगायतका सेवा विस्तार गरी सेवालाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो । मन्त्री सारुले लुम्बिनी प्रदेशमा नसर्ने रोग, मातृशिशु मृत्युदर र कुपोषण दरमा वृद्धि भइरहेको अवस्थामा पाल्पामा स्वास्थ्यको क्षेत्रमा यहा“का स्वास्थ्य संस्थाहरूबाट सेवा सुदृढीकरणका लागि धेरै राम्रा कामहरू भएको दावी गर्नुभयो । 

अस्पतालका निर्देशक डा. रचेल कारखले विगत सात वर्षदेखि अस्पतालको वार्षिक योजनामा रहेको र स्थानीय समुदायको माग रहेकोमा हाल सेवाको शुरुवात गर्न पाउ“दा खुसी लागेको बताउनुभयो। उहा“ले विभिन्न व्यक्तिगत, संस्थागत सेवाबाट ७ करोड बढी लगानीमा सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालनमा आएपछि अस्पतालमा आउने बिरामीले थप गुणस्तरीय सेवा प्राप्त गर्नेमा अस्पताल प्रमुख कारखले विश्वास व्यक्त गर्नुभयो ।

 

युएमएन मेडिकल डिपार्ट ट्रस्टका अध्यक्ष डेविट रोजरले सेवाको भरपुर उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा अस्पताल सल्लाहकार समितिका प्रमुख टंकनाथ खनाल, रैनादेवी छहरा गाउपालिका अध्यक्ष रुक्मांगत भट्टराई, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, पत्रकार महासंघ पाल्पाका सभापति कमलराज तिमिल्सिना लगायतले आधुनिक सिटी स्क्यान मेसिनबाट सेवाको सञ्चालनले बिरामीलाई सुविधा पुग्नुका साथै उपचार सेवासमेत प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालले १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरी सेवा सुरु गरेको अस्पतालका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत जीवन भट्टराईले जानकारी दिनुभयो । उहाँले यूनाइटेड मिसन अस्पताल तानसेनले स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै कार्डियक सेवा सहितको १६० स्लाइसको अत्याधुनिक सेवा सुरु गरेको बताउनुभयो । अस्पतालले २४ सै घण्टा उपलब्ध हुनेगरी सिटिस्क्यान सेवा सुचारु गर्न लागिएको भट्टराईको भनाई छ । सिटी स्क्यान सेवा थप भएसँगै अस्पतालका सेवाग्राहीले उच्च गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको अस्पतालले जनाएको छ । शुभारम्भ कार्यक्रम अस्पतालका सल्लाहकार समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता, अस्पतालका डाइरेक्टर डा. रचेल कारखको स्वागत र प्रशासकीय अधिकृत जीवन भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।