पाल्पा, २८ कार्तिक ।
बगनासकाली गाउँपालिकामा आधारभूत तह स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका भित्र रहेका २२ विद्यालयका विद्यार्थीहरूले आफूले बनाएका शैक्षिक र विज्ञानसँग सम्बन्धित सामग्री प्रदर्शनी गरेका हुन् ।


विद्यार्थीहरूले गाउँपालिकाको प्रशासकीय भवन, यहाँका धार्मिक पर्यटकीय सम्पदा, भाषा, कला, संस्कृति, चाडपर्व, साहित्यिक व्यक्तित्वहरू, कृषि, प्रविधि, ढिकी, हस्तकलाका सामग्री, डोकोलगायत विविध सामग्री प्रस्तुत गरेका थिए । बगनासकाली गाउँपालिका शिक्षा शाखाको आयोजना र सामाजिक स्रोत विकास केन्द्र नेपालले प्रतियोगात्मक शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गरेपछि विद्यार्थीहरूले प्रतिभा उजागर गर्ने अवसर पाएका हुन् ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी (चिदी)ले विद्यार्थीले क्षमता प्रदर्शन गर्नु राम्रो पक्ष रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई प्रोत्साहन गर्न र शिक्षा विकासका लागि गाउँपालिकाले काम गर्ने बताउनुभयो ।
प्रतियोगितात्मक कार्यक्रम संयोजन गरेको सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यक्रम संयोजक पिताम्बर बस्यालले व्यवहारिक शिक्षा र प्रयोगात्मक शिक्षालाई प्रवद्र्धन गर्ने जस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनुभयो ।

शैक्षिक सामग्री प्रदर्शनीको लागि शिक्षा विकास तथा समन्वय इकाई पाल्पाबाट वसन्तराज भट्ट, प.प.मा.वि.तानसेनबाट सीता अधिकारी र महेन्द्रबोधी मा.वि. तानसेनबाट हरिलाल गैरेले निर्णायकको भूमिकामा रहनुभएको शिक्षा शाखा प्रमुख निशा पाण्डेले बताउनुभयो । औपचारिक कार्यक्रमको सञ्चालन बालमैत्री कार्यक्रम संयोजक नारायण तिमिल्सिनाले गर्नुभएको थियो । बगनासकाली गाउँपालिका भित्रका २२ वटा विद्यालय सहभागी भएको सो कार्यक्रममा विभिन्न विद्यालयले गाडी रिजर्व गरेर गाउँपालिकाको प्रशासकीय भवन प्राङ्गणमा सहभागी भएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, सामाजिक स्रोत विकास केन्द्र पाल्पाका अध्यक्ष राजेश श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद न्यौपाने, शिक्षक मोहन कवँर लगायतले शैक्षिक सामग्री प्रदर्शनले विद्यार्थीको सिकाई प्रभावकारिता बढाउने भन्दै विद्यार्थी, शिक्षक र अभिभावकको सहकार्यमा शैक्षिक गुणस्तर कायम गर्न सकिनेमा जोड दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा शाखा प्रमुख निशा पाण्डे र कार्यक्रमको उद्देश्यमाथि सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यक्रम संयोजक पिताम्बर बस्यालले गर्नुभएको थियो ।
यसैबीच, प्रतियोगितात्मक शैक्षिक प्रदर्शनीमा ग्राम्य माध्यमिक विद्यालय प्रथम, राम आधारभूत विद्यालय द्वितीय चन्द्र माध्यमिक विद्यालय तृतीय भएको बालमैत्री शाखा प्रमुख नारायण तिमिल्सिनाले जानकारी दिनुभयो । प्रतियोगितमा विजेता प्रथमलाई २० हजार बराबरको शैक्षिक सामग्री, द्वितीयलाई १५ हजार बराबरको शैक्षिक सामग्री र तृतीयलाई १० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको र सहभागी सवै समूहलाई सहभागी पुरस्कार प्रदान गरिएको थियो ।










