पाल्पा, २९ कार्तिक ।
कार्तिक २९ गते शनिबार तानसेन बचत तथा ऋण सहकारी संस्थाले सत्रौं साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष भोजराज पोखरेलको अध्यक्षता र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सभाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उद्घाटन गर्दै तानसेन सहकारीले सामाजिक कार्यमा देखाएको अग्रसरता सकरात्मक भएको औंल्याउनुभयो । मन्त्री सारुले पाल्पामा तानसेन बचत तथा ऋण सहकारी धेरैको रोजाइमा परेको भन्दै शेयर सदस्यको आर्थिक स्थिति सुधारका सहकारीमार्फत हुने सकरात्मक कार्यक्रमलाई सबैले साथ दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष भाेजराज पोखरेलले अध्यक्षको प्रतिवेदन, सचिव धनिश्वर बस्यालले सचिवको प्रतिवेदन र कोषाध्यक्ष दिपक विश्वकर्मा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष भोजराज पोखरेलले सहकारी संस्थालाई जीवित, सक्रिय र विश्वसनीय बनाउन सबैको पहल आवश्यक हुने विचार राख्नुभयो ।
संस्था पारदर्शी ढंगले सञ्चालन भएको जनाउँदै सचिव धनिश्वर बस्यालले सबै कोषहरू सुरक्षित, खराब कर्जा नरहेको, रकम लगानीको र असुलीको अभाव नभएको बताउनुभयो । सहकारीले उद्यम, शिक्षा, अधिक बचत, शेयर सदस्यता वृद्धिजस्ता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
कार्यक्रममा बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदी भट्टराईले दोहोरो सदस्यता कायम हुँदा सहकारीहरूमा समस्या परेको भन्दै पारदर्शिता अपनाउन, कार्यक्षेत्र तोक्न, ऋण असुलीमा ध्यान दिन सक्नेपर्नेमा जोड दिनुभयो । सहकारीका अध्यक्ष भोजराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ति वश्यालले स्वागत र सञ्चालन सचिव धनिश्वर बस्यालले गर्नुभएको थियो ।










