पाल्पा, २ मंसिर ।
बगनासकालीमा सहकारी संस्थाको लागि लेखा तथा व्यवस्थापन सम्बन्धी एक हप्ते तालिम सम्पन्न भएको छ । बगनासकाली गाउँपालिकाको आयोजनामा कार्तिक २६ देखि चलेको तालिमको मंगलबार समापन गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षतामा तालिमको समापन सत्र चलेको हो । समापन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष चिदीले सहकारी संस्थाहरूको प्रवद्र्धनको लागि एक हप्ते तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । तालिम अवधिभर सीकेका ज्ञान सीपलाई कार्यस्थलमा प्रयोग गरी सहकारीमार्फत बगनासकालीको समृद्धि र सहकारी आर्थिक सुशासनमा लाग्न सहभागीलाई अनुरोध गर्नुभयो ।


गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाभित्रका सहकारीको कार्यसम्पादनलाई उत्कृष्ट बनाउन तालिमले सहयोग पु¥याउने बताउनुभयो । उहाँले सहकारीमा देखिएका समस्या समाधान गर्दै बगनासकालीमा सहकारीको व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवाला लाग्नुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले तालिमले बगनासकालीका सहकारी संस्थाको विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले सहकारीको विकासका लागि आवश्यकता अनुसार क्षमता विकास, तालिम, अन्तरक्रिया, छलफल लगायतका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
तालिममा गाउँपालिकाका वरिष्ठ आलेप अधिकृत यादव प्रसाद न्यौपाने र लेखा अधिकृत कोशल राज पौडेलले सहभागीहरूलाई सहकारी के हो, सहकारिता, यसका मूल्य मान्यता, सिद्धान्त तथा सहकारी संस्था सञ्चालन ऐन, मापदण्ड, सहकारीका ४ खाताहरू आम्दानी, खर्च, सम्पत्ति दायित्व लगायतका विषयमा व्यवहारिक अभ्याससहित समूहगत रूपमा प्रशिक्षण दिनुभएको थियो ।
बगनासकाली गाउँपालिका भित्रका सहकारी सञ्चालक र लेखा समितिका कर्मचारी एवम् व्यवस्थापक गरी २० जनाको तालिममा सहभागिता रहेको थियो । तालिम समापन सभामा सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । सहभागीको तर्फबाट बोल्दै बेगम बुढाथोकीले एक सातासम्मको तालिम फलदायी रहेको र यसले संस्थाको विकासमा सहयोग पुग्ने धारणा राख्नुभएको थियो ।










