२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

बलिहाङ, पर्यटन र बल्ढेङगढी दरबार

के.बि.मसाल
पछिल्लो समय नेपालमा बाह्य पर्यटक भन्दा पनि आन्तरिक पर्यटकहरूको संख्या प्रत्येक वर्ष क्रमश बढ्दो छ। सूचना र सञ्चार प्रविधिको प्रचूर विकास र विस्तार भएको आजको युगमा ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ। पर्यटनको क्षेत्रमा लुकेका ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिकलगायत दुर्लभ तथ्य उजागर गरी कीर्तिमान कायम राख्ने आजभोलि पर्यटकहरूमा होड नै चलेको छ। तर यसको तथ्यांक भने राख्ने निकाय छैन । कुन जिल्लामा र कुन ठाउ“मा वार्षिक कति पर्यटकहरू पुगे भन्ने कुरा खोज्दा पाउन सकिन्न। अर्कोतर्फ आन्तरिक पर्यटकहरूको घुम्ने समय पनि हतारको हुन्छ। पुग्नासाथ फर्कन हतार। आफू पुगेको जिल्ला अथवा गाउँ ठाउँ वरपर पर्यटनका लागि के कस्ता ऐतिहासिक अथवा प्राकृतिक सम्पदा र पर्यटनको लागि पुग्नैपर्ने स्थानको बारेमा सोधखोज गर्ने बानी छैन ।

लुम्बिनी प्रदेशको पाल्पा पर्यटनको लागि ऐतिहासिक प्राकृतिक र धार्मिक सम्पदा भएको जिल्ला हो। पर्यटनको क्षेत्रमा इतिहास कहिल्यै पनि पुरानो हुँदैन। जति खोज अध्ययन हुन सक्यो नयाँ कुराहरु थाहा हुन्छ । नदेखेका र थाहा नपाएका कुरा पर्यटकहरूका लागि मात्र नभएर सबैको लागि नयाँ हुन्छ। इतिहासमा रुचि राख्ने पर्यटकहरू पुराना इतिहास खोज्छन् । पर्यटनको लागि प्रायः पाल्पाको तानसेन नपुग्ने पर्यटक को होला र? तानसेन पुग्ने पर्यटकहरूले तानसेन बजार वरपरका ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरू अवलोकन गर्दछन्। पाल्पामा सेन राजाहरुद्वारा अमर बनेका इतिहास, धार्मिक, पुरातात्विक महत्वका अनेकौं सम्पदाहरूले खोज अनुसन्धानमा रुचि हुने पर्यटकहरूलाई अध्ययनको बिषय बन्दछ। तानसेनको श्रीनगर, अग्रेजसँगको लडाईंमा विजयको उत्सवमा उजीर शमसेरले निर्माण गर्न लगाएका भगवतीको मन्दिर, शितलपाटी, एशियाकै ठूलो मानिने शितलपाटीको मूलढोका, अमरनारायणको मन्दिर, तानसेन दरवार र संग्रहालय पर्यटकका लागि अध्ययन, अनुसन्धान र दृष्यावलोकनका स्थल बनेका छन्।

पाल्पाको इतिहास अध्ययन गर्न पश्चिम पाल्पा पुग्नैपर्दछ। पाल्पामा तानसेन भन्दा पश्चिम रैनादेवी छहरा र रिब्दीकोट गाउ“पालिका पर्दछ । अहिले पश्चिम पाल्पाको छहरा, मुझुङ, सोमादी, सिद्धेश्वर, भुवनपोखरी, जुठापौवा, बल्ढेङगढी र सत्यवतीको सबै भूगोल रैनादेवी छहरा गाउँपालिका भएको छ। त्यसैगरी ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, पालुङमैनादी, ठिमुरे र फेक गाउँहरूको क्षेत्र रिब्दीकोट गाउ“पालिकामा पर्दछ । भैरवस्थान हुँदै पश्चिम पाल्पा जानको लागि हार्थोक–छहरा हुँदै अर्घाखाँची जोडिने मोटर मार्गले पर्यटकलाई सजिलो बनाइदिएको छ । तानसेनबाट पश्चिम लागेपछि धेरै पर्यटकहरू भैरवस्थान पुगेकै हुन्छन्। भैरवस्थान मन्दिर पाल्पाको ऐतिहासिक सम्पदा हो। राजा मुकुन्द सेनले भैरवस्थलमा मन्दिर निर्माण गरेका हुन्। पर्यटनका लागि भैरवस्थानको मुख्य विशेषता रोट चढाउनेमा पर्दछ। भैरवलाई आफ्नो भाकल अनुसार एक माना वा एक पाथी चामलको पिठोबाट बनेको रोट चढाइने गरिन्छ। रोटको पिठोमा नरिवल, किसमिस, छोकडा, ल्वाङ, सुकुमेल जस्ता मसालाहरू मिसाएर घिउमा पकाउने र बटुक भैरब तथा देवीलाई चढाउने प्रचलन छ।

तानसेनदेखि पश्चिमतर्फ जाँदा पर्यटकहरूसँग घुमफिरको प्याकेज भयो भने सजिलो, छिटो र खर्च पनि कम हुन्छ । घुमफिरको समय कति छ ? समग्र पश्चिम पाल्पामा कहाँ–कहाँ घुम्ने ? ऐतिहासिक स्थल बल्ढेङगढीमा पुग्ने कि ? तीर्थाटनका लागि रैनादेवी जाने ? अथवा प्राकृतिक सम्पदाको अवलोकन गर्ने जस्ता कुराहरु पर्यटकहरूले पश्चिम पाल्पा जाँदा प्याकेज बनाउँदा सोच्नुपर्दछ। पश्चिम पाल्पामा आजभोलि प्रायः सबै गाउ“हरूमा सडक सञ्जाल जोडिएको छ । सबै सडक कालोपत्रे नहोलान् तर साना गाडीहरू सबै गाउँमा पुग्छन्। घुमफिर गर्दा समूहमा जाँदा राम्रो र सजिलो पनि हुन्छ । पहाडी गाउ“ ठाउ“मा बलेरो अथवा स्कारपिओ जस्ता मोटर भयो भने घुमफिरको लागि सहज हुन्छ ।

मगर राजा बलिहाङको बारेमा खोज अनुसन्धान गर्ने पर्यटकहरू आजभोलि पश्चिम पाल्पाको बल्ढेङगढी पुग्छन् । बल्ढेङगढी मगर राजा बलिहाङको दरबार भएको स्थल हो । इतिहास भनेको सत्य असत्यको विवेचना गरी भएको कुरा लेखेको शास्त्र हो। राजा बलिहाङको लामो इतिहास छ। तर इतिहास भित्र लुकेका धेरै कुराहरू छन् । त्यसैले इतिहासको खोज अनुसन्धानमा रुचि राख्ने पर्यटक बल्ढेङगढी पुग्नैपर्दछ। बल्ढेङगढी पश्चिम पाल्पाको ऐतिहासिक थलो हो । बल्ढेङगढी रैनादेवी छहरा गाउँपालिकाको ७ नम्वर वडामा पर्दछ । बल्ढेङगढी पुगेपछि पर्यटकहरू प्राकृतिक, धार्मिक, सांस्कृितक र ऐतिहासिक क्षेत्रको मनोमहक दृश्यसहित दर्जनौं डाँडाकाँडाहरू अवलोकन गर्न सक्छन् । बलिहाङगढी दरबार तानसेनदेखि करिव ५० किलोमिटर पश्चिम दक्षिण र रुपन्देहीको पूर्व–पश्चिम राजमार्गमा पर्ने सालझण्डीदेखि १५ किलोमिटर उत्तरमा पर्दछ। बल्ढेङगढी जानको लागि भैरवथान, हार्थोक हु“दै अर्घाखा“ची जाने सडकबाट छहरा हुँदै मेलढाप पुग्ने। मेलढापबाट काफलबुटा सुगुरेढुङा हुँदै जुठा भएर बल्ढेङगढी पुगिन्छ। सालझण्देखि जानको लागि सालझण्डी–ढोरपाटन सडकबाट झरना रिसोर्ट अथवा जोगदमार हुँदै पनि बल्ढेङगढी जान सकिन्छ ।

विक्रम सम्वत १४५० देखि १८०९ सम्म मगरातको राजधानीको रूपमा रहेको बल्ढेङगढी क्षेत्रमा अहिले पनि पर्यटकहरूले बलिहाङ राजाको राजदरबारका अवशेषहरू देख्न सक्छन्। इतिहासमा उल्लेख भए अनुसार १४ औं शताव्दीमा मगर राजा बलिहाङ राना मगर बल्ढेङगढी राज्यको पहिलो राजा थिए। बलिहाङ राना मगरले बाह्रमगरात राज्यलाई एकीकरण गरी बलिहाङ राज्य स्थापना गरेका हुन्। तीन सय वर्ष लामो शासन सञ्चालन गरेको बल्ढेङगढी पहाडको चुचुरोमा पर्दछ। अहिले पनि दरवारको चार किल्लामा पर्खाल, इनार, गुफा, रानी बन सुरक्षित नै रहेका छन्। सैनिकहरूले प्रयोग गरेका परेड खेल्ने ग्राउण्डदेखि सुरुङ मार्ग र मोर्चाहरू समेत बलिराजाको दरवार क्षेत्रमा पर्यटकहरूले देख्न सक्छन्। दरबार हातामा पुरानो कुवारीको मन्दिर समेत रहेको छ । बलिहाङ राजाको शासनकालमा चार हजार सेना रहेका थिए । ऐतिहासिक र सामरिक किल्लाको महŒव रहेको बल्ढेङगढी मगर राजाको इतिहास खोज्न पुग्नैपर्दछ। महाभारत श्रृंखलाको दक्षिणमा बलिहाङ राजाले बनाएको चौकी समेत रहेको थियो । चौकीमा मगर उमराउ बस्थे र तराई र पहाड गर्ने बाटोमा गौंडा थियो । बलिहाङगढी दरवारले त्यो समयमा गोरखपुरसम्म शासन गर्दथ्यो। बलिहाङगढीको त्यो बेलाको शासन व्यवस्था स्वर्णिम र प्रजामुखी भएको इतिहासमा पढ्न पाइन्छ ।

सेनवंशीय राज्यको स्थापना हुनु भन्दा पहिले बलिहाङगढी मगर राज्य शक्तिशाली थियो । तर इस्वि सम्वत १४ सयदेखि १६ सम्मका बीचमा मुसीकोट, अर्घा, पाल्पा, खाची, धुर्कोट, इस्मा र गुल्मी गरी सात राज्य स्थापना भएपछि बलिहाङगढी राज्य कमजोर हुन पुग्यो। पछि इस्वि सम्वत १६ सयतिर बलिहाङगढी राज्यमा सात राज्यले आक्रमण गर्दा बलिहाङगढी राज्य पराजय हुन पुग्यो । अहिले पनि बल्ढेङगढी क्षेत्रमा तोरीखेत, सुकादमार, बुढीदमार र खुर्सानेमा वसोवास गर्ने राना मगरहरु बलिहाङ राजाका सन्तति मानिन्छन् । बल्ढेङगढीमा जाँदा पर्यटकहरूले देउसी र भैलोको प्रचलनका बारेमा पनि लोक कथा सुन्न पाउ“छन् । देउसी, भैलो भट्याउँदा बलि नामक राजाको नाम बल्ढेङगढीकै बलिहाङ राजा हुन् भन्ने कुरा बल्ढेङगढीका मगरहरूको तर्क छ। राजा बलिहाङ निकै लोकप्रिय राजा थिए। राजालाई मृत्युको दिव्य ज्ञान भएछ । त्यसपछि राजाले आफ्ना प्रजाहरूलाई बोलाएर भने छन् मेरो मृत्यु कार्तिकको आंैसीको रातमा हुँदैछ। मलाई बचाउन यमराजसँग पुकार गर्नुपर्दछ । त्यसपछि राजालाई बचाउन यमराजको प्रार्थना शुरु भएछ । राजालाई बचाउन घर घरमा बत्ती बाली देउसी भैलो भट्याउ“दै यमराजसँग प्रार्थना गरेको कुरा पनि बल्ढेङगढीमा इतिहासमा रुचि राख्ने पर्यटकहरूले खोज अनुसन्धान गर्न सक्छन् । मगर भाषामा फाइलो शब्दबाट भइलो हुन गएको र मगर भाषाको शब्द देउस्यैराबाट देउसुरे भएको कुरा इतिहासमा पाइन्छ ।

पश्चिम पाल्पाको घुमफिर गर्दा मगर जातिको भाषा र संस्कृतिको बारेमा पनि पर्यटकहरूलाई अध्ययन हुन्छ। पाल्पाको नाम मगर भाषाको वाल्वा शब्दबाट पाल्पा भएको मानिन्छ। मगर भाषामा वाल्पाको अर्थ बलियो किल्ला भन्ने हुन्छ । तानसेन पनि मगर भाषाकै शब्द हो । पाल्पा जिल्लामा मगर भाषाबाट रहेका ठाउ“का नाम धेरै छन् । तानसेनकै होलाङ्दी, बराङ्दी, मस्याङ, जन्तीलुङ पनि मगर भाषाका नाम हुन्। यो उदाहरण मात्र हो । इतिहासमा पाल्पा क्षेत्र बाह्रौ शताब्दीदेखि पन्ध्रौं शताब्दीसम्म खस राज्यको प्रभावमा थियो । खस राज्यको विघटनपछि पाल्पा क्षेत्र पुनः भुरेटाकुरे राज्यमा विभाजित भयो । जसलाई आफ्नो अधिनमा पारेर सेन वंशका शासकहरूले तीन शताब्दीसम्म शासन गरेका थिए। मगर जाति तीन किसिमका हुन्छन्। सबै मगर जाति प्रकृतिका पुजारी हुन् । तर मगरहरूको संस्कृति भने स्थान बिशेष प्रचलन भने फरक हुन्छ । अर्कोतर्फ मगर जातिको भाषा पनि तीन किसिमको छ । बाह्र मगराँतले बोल्ने भाषालाई मगर ढुँट भन्ने गरिन्छ भने अठार मगराँतका बासिन्दाले बोल्ने भाषालाई खाम र डोल्पाका तराली मगरले बोल्ने भाषालाई काइके भनिन्छ। मगर ढुँट भाषा बोल्ने मगरहरू विशेषगरी पाल्पा, तनहुँ, गोरखा र आजभोलि अन्य जिल्लामा पनि छन् ।

बलिहाङ राजाको दरवार बल्ढेङगढी जाँदा पर्यटकहरूले भैरवस्थान नजिकमा रहेको पुरानोकोटको पाल्पा दरबारमा समेत पुग्न सक्छन् । पुरानो कोट पुरातात्विक सम्पदा हो । अहिले पुरातत्वले दरवारका भग्नावशेषको अध्ययन गर्न पनि थालेको छ । सेन वंशको शासन स्थापना गर्ने राजा रुद्र सेनले रिब्दीकोटबाट आफ्नो राजधानी सिलाङथोकको डाँडामा सारेर पाल्पा दरबार बनाएका थिए। भारतमा मुगलहरुको आक्रमण सहन नसकी तुथाराय सेन प्रयागबाट बुटवलको बाटो भएर रिसिङमा लामो समयसम्म बसी पछि कुसुमखोला, पालुङ मैनादी र ठिमुरेको सीमानामा पर्ने रिब्दीकोटमा आफ्नो स्वतन्त्र राज्य स्थापना गरेका थिए । तानसेन भन्दा पहिले सेनवंशीय राजाहरू शिलाङथोकको नजिक पुरानकोटलाई राजधानी बनाएका थिए। वि.सं. १३६३ मा तुथाराय सेनदेखि प्रारम्भ भई पाल्पा राज्यको संस्थापक मानिने रुद्र सेनले १५६३ मा पाल्पाको राज्यको स्थापना गरेका थिए । करिवन ४९८ वर्षसम्म शासन गर्ने पाल्पाली सेन राजाहरूमध्ये पछिल्ला पृथ्वीपाल सेनको पालामा बहादुर शाह र भीमसेन थापाको रणनीतिक चतु¥याइले पाल्पा राज्य वि.सं. १८६१ मा नेपाल राज्यमा गाभिएको थियो ।

पश्चिम पाल्पाको घुमफिरमा पर्यटकहरू रैनादेवी पुगेन भने घुमफिरनै अधुरो जस्तो हुन्छ। भुवनपोखरीमा रहेको रैनादेवी मन्दिर प्राचीन, धार्मिक, ऐतिहासिक र पुरातात्विक मह्त्तव हिसाबले पर्यटनका लागि महŒवपूर्ण स्थान मानिन्छ। रैनादेवीमा हरेक वर्ष न्वागी पर्व मनाउने परम्परा रहेको छ । दशैंको नवदुर्गाभर र न्वागी पर्वको अवसरमा रैनादेवीमा ठूलो मेला समेत लाग्ने गर्दछ । न्वागीको दिन बिहानैदेखि मन्दिरमा पुजाआजा हुनेगर्दछ भने रातभर सोरठी, ख्याली, बालुन र मालश्री गाउने र नाच्ने गरिन्छ। पछिल्लो समयमा स्थानीय बासिन्दाको पहलमा न्वागी मेलालाई महोत्सवकै रूपमा मनाउन थालिएको छ । यस वर्ष पनि मंसिर ७ र ८ गते रैनादेवीमा न्वागी महोत्सव आयोजना गरिएको छ । न्वागी पर्व पश्चिम पाल्पाकै धार्मिक आस्थासँगै मौलिक संस्कृति, जीवन पद्धति, कृषक तथा कला संस्कृतिस“ग पनि गाँसिएको छ । न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याएमा घरमा अनिष्ट हुने जनविश्वास रहेको छ । अर्कोतर्फ रैनादेवीमा दशैंको अष्ठमीका दिन मध्यरातमा गरिने कालिका पुजा, सोरठी नाच, सरा“य, मालश्री, बालुन र ख्याली नाच पर्यटनका लागि रैनादेवीको प्रमुख आकर्षण हुन्छन्। रैनादेवीको मन्दिरमा आठ सय वर्ष पुरानो घण्टा रहेको छ । मन्दिरमा पृथ्वीनारायण शाहकालीन हात हतियार र खड्ग, ताम्रपत्र र रैनादेवीको आफ्नै मालश्री रहेका छन्। मन्दिरमा अक्षता कुटनको लागि जंगलको बीचमा ढिकी राखिएको छ भने धुपका लागि कोलको व्यवस्था गरिएको छ। रैनादेवीको मन्दिर क्षेत्रबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका दर्जनाैं हिमश्रृंखलाको मनमोहक दृश्यावलोकन पनि गर्न सकिन्छ।

दशैंको कोजाग्रत पूर्णिमाको समयमा रैनादेवी पुग्ने पर्यटकहरूले ऐतिहासिक सरायँ नाच समेत हेर्न सक्छन् । पश्चिम पाल्पाको मुझुङ, पालुङ मैनादी, खस्यौली, बल्ढयाङगढी र छहरा लगायतका भगवती मन्दिरमा सरायँ नाच खेल्ने प्रचलन रहि आएको छ। सरायँका मेलामा रातो पहिरनमा हात हातमा ढाल, तरबार र खुँडा नचाउँदै झ्याली र ढोलकको तालमा वाख्खै ह्वा, वाख्खै ह्वा भन्दै समूहमा नाचिने सराय“ नाच पहिलो पटक देख्ने पर्यटकहरूका लागि नौलो मानिन्छ ।
(लेखक: स्वतन्त्र पत्रकार संघका पूर्व राष्ट्रिय अध्यक्ष हुनुहुन्छ ।)

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।