भोजराज भट्टराई
पाल्पा, ५ मंसिर ।
पाल्पाको तिनाउँ गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवा युक्त पालिका घोषणा गरिएको छ । गाउँपालिकाले दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि शुक्रबार एक औपचारिक कार्यक्रमबिच जिल्ला समन्वय समिति, पाल्पाका प्रमुख टंकनाथ खनालले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवा युक्त पालिका घोषणा गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि खनालले प्रसुति सेवाको सृदृढीकरण र मातृ तथा नवजात शिशु, मृत्यु दर घटाउन गाउँपालिकाले पुर्याएको योगदानको प्रसंशा गर्नुभयो । उहाँले आगामी दिनमा अझ स्तरीय सेवा विस्तारको लागि शुभकामना दिनुभयो ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले गाउँपालिकाका सवै वडा, स्वास्थ्य संस्थाहरू र समुदायको सहकार्यका कारण यो उपलब्धि सम्भव भएको बताउनुभयो । गाउँपालिकाले सबै महिला र गर्भवती आमाहरूलाई सुरक्षित प्रसुति सेवा सुनिश्चित गर्न प्राथमिकताका साथ आगामी दिनमा थप प्रभावकारी सेवा विस्तार गरिने उपाध्यक्ष थापाले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, राजनीतिक दलको तर्फबाट प्रेम प्रसाद पाण्डे, राजेश श्रेष्ठ र विकास अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको जनस्वास्थ्य अधिकृत कृष्ण कार्कीले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा स्वास्थ्य शाखा प्रमुख कार्कीले प्रसुति सेवा प्रवाहका सन्दर्भमा गाउँपालिकाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
पूर्ण संस्थागत प्रसुति सेवा दिगोपना घोषणा गर्नमा सहयोग पुर्याउनेहरूलाई गाउँपालिकाले सम्मान गरेको थियो । तिनाउँ गाउँपालिकाभित्र स्वास्थ्य चौकी ४, आधारभूत स्वास्थ्य चौकी २ र ९ वटा स्वास्थ्य इकाई रहेको स्वास्थ्य शाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।









