भोजराज भट्टराई,
पाल्पा, ८ मंसिर
असोज ११ देखि मंसिर ५ गतेसम्म चलेको दर्ता अभियानमा पाल्पामा ६ हजार बढी नयाँ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट १८२७ जना र राष्ट्रिय परिचय पत्रबाट नयाँ दर्ता निवेदन ४३२५ जना गरी जिल्लामा जम्मा ६ हजार १ सय ५२ जना नयाँ मतदाताले नाम दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालय पाल्पाबाट थप हुने मतदातामा पुरुष १०१७ र महिला ८१० जना रहेका छन् भने जिल्ला बाहिरबाट पुरुष ७१ र महिला १७२ गरी १९३ जना थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय, पाल्पाले विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेपछि ती मतदाता थपिएका हुन् । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जारी मतदाता नामावली सङ्कलनमा नाम दर्ता गराउनेहरूमा पाल्पामा युवा बढी सक्रिय देखिएको निर्वाचन कार्याल पाल्पाले जानकारी दिएको छ ।

सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जेनजीको पनि मतदानमा बढीभन्दा बढी मताधिकार प्रयोग होस् भन्ने अभिप्रायले मतदाता नामावली सङ्कलन थालेको हो । असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली सङ्कलन कार्यको समयसीमा मंसिर ५ गते सकिएको हो । थप भएका मतदाताको विवरण रुजुको काम भइरहेको छ निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय पाल्पाले आयोगको निर्देशनपछि थालेको मतदाता नामावली सङ्कलनमा नाम दर्ता गराउनेहरूमा युवा बढी देखिएका छन् ।
पाल्पामा २०७९ को प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचन मा २ लाख १ हजार ३ सय २६ जना मतदाता रहेका थिए । यसमध्ये ९८ हजार २ सय ८ पुरुष र १ लाख ३ हजार १ सय १८ जना महिला मतदाता थिए । जिल्लामा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र छन् ।










