भोजराज भट्टराई
पाल्पा, ९ मंसिर ।
‘‘प्रविधिको सही प्रयोग गरौं : लैंगिक हिंसा अन्त्य गरौं’’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलबारबाट शुरु भएको छ । देशका विभिन्न जिल्लामा जस्तै पाल्पामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलबार अर्थात नोभेम्बर २५ देखि सुरु भएको छ । जिल्लाका दश वटै स्थानीय तह र सरोकारवाला संस्थाले रचनात्मक कार्यक्रम गरी अभियानको सुरु गरेका हुन् ।
यसैबीच अभियानको शुभारम्भ गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले लैंगिक हिंसा अन्त्यका लागि सबै तह र क्षेत्रको साझा प्रयास आवश्यक रहेको औंयाउनुभयो । उहाँले लैंगिक हिंसा सहेर नबस्ने र हिंसा भएको देखेमा प्रतिवाद गर्न सकेमा समाजमा लैंगिक हिंसा अन्त्य गर्नमा सहयोगे पुग्ने बताउनुभयो । अध्यक्ष चिदीले गाउँपालिकाले महिला सञ्जालको बैठक बसी १६ दिने अभियानको अवधिभरमा उपयुक्त कार्यक्रम सञ्चालन गरिने समेत जानकारी दिनुभयो ।

अध्यक्ष चिदीले दिवसको पहिलो दिन गाउँपालिका प्राङ्गणमा गाउँपालिका अध्यक्ष चिदीले जनप्रतिनिधि र कर्मचारीलाई हिंसा विरुद्ध साझा प्रतिबद्धता र एक्यबद्धता जनाउँदै सेतो रिवन उपहार प्रदान गरी दिवस शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, प्रवक्ता टिकाबहादुर थापा लगायत विभिन्न विषयगत शाखाका प्रमुख तथा अन्य कर्मचारीको सहभागिता रहेको थियो ।
सामाजिक विकास शाखा प्रमुख धन कुमारी रानाले लैंगिक हिंसाको शून्य सहनसिलताको लागि देशभर हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्दै आएको अवगत गराउनुभयो । उहाँले सेतो रिवन लैंगिक हिंसा विरुद्ध एक्यबद्धताको प्रतीक भएकाले १६ दिने अवधिभर सेतो रिवन प्रयोग गरी दिवसलाई सफल बनाउनु अनुरोध गर्नुभयो ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिला माथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि महिला माथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि वि.सं. २०७५ कार्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।









