पाल्पा, १२ मंसिर
सामाजिक सुरक्षा तथा पञ्जिकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बगनासकालीमा सम्पन्न भयो । शुक्रबार गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भएको कार्यक्रममा सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता र राष्ट्रिय परिचय पत्र सम्बन्धी छलफल भएको हो ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षतामा भएको अभिमुखीकरणमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे र सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख भोजराज भट्टराईले वर्तमान ऐन, नियमावलीमा भएका व्यवस्था, कार्यसम्पादनमा देखा परेका समस्या, चुनौती न्यूनीकरणका विषयमा प्रस्तुतीकरणसहित सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले ऐन, नियम अनुसार जनतालाई सहज, छिटो र सरल तरिकाले सेवा दिन सकेमा जनतालाई सरकारको अनुभूति गराउन सकिने बताउनुभयो । उहाँले वर्तमान ऐन, नियम अनुसार सेवाग्राहीका सामाजिक सुरक्षा र पञ्जिकरण सम्बन्धी कामलाई सहज ढंगले सम्पादन गर्दै सेवाग्राहीलाई सरकारले दिने सेवाको बारेमा बुझाउने काममा वडा कार्यालयले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्षसहित, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, ९ वटै वडाका वडाध्यक्षहरू, शिक्षा, सूचना शाखा प्रमुख, वडा सचिवहरू र सहायक कम्प्युटर अपरेटर लगायतको सहभागिता रहेको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका फिल्ड सहायक प्रेम बहादुर बगालेले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी वडाका पञ्जिकाधिकारीले वडामा कार्यसम्पादन गर्दा भोग्नुपरेका समस्या, चुनौतीका विषयमा जिज्ञासा राख्नुभएको थियो ।










