पाल्पा, १० मंसिर ।
मंसिर १० गते बुधबार विनय कुमार कसजू स्मृति प्रतिष्ठानले पाल्पाको तानसेनमा संवाद, सम्मान तथा पुरस्कार अर्पण कार्यक्रम आयोजना गर्यो । पाल्पा तानसेनको पत्रकारिता, ग्रामीण तथा आमसञ्चार, पर्यटन, साहित्य सिर्जना र सामाजिक विकासमा तानसेनमा रहँदा योगदान गर्नुभएका विनय कसजूको छैठौं स्मृति दिवसको सन्दर्भ पारेर साहित्य, पत्रकारिता, महिला सशक्तीकरण क्षेत्रमा काम गर्ने ६ जनालाई सम्मान तथा पुरस्कार समर्पण गरिएको हो ।

प्रतिष्ठानद्वारा स्थापित ग्रामीण पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द भट्टराईलाई, रेडियो पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष राजेशकुमार अर्याललाई र साहित्य पुरस्कार साहित्यकर्मी नीलकण्ठ न्यौपानेलाई प्रदान गरिएको छ । जनही २५ हजार, प्रमाणपत्रसहित ३ जनालाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा विनय कुमार कसजु बाल साहित्य सम्मान शान्तदास मानन्धर, महिला सशक्तीकरण सम्मान सुशीला श्रेष्ठ र पाल्पाको समकालीन पत्रकारिता सम्मान झपेन्द्र गहिरेलाई प्रदान गरिएको छ । सम्मानित तीनै जनालाई सम्मान पत्र र खादाले सम्मान गरिएको थियो । सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष गङ्गा कसजूले दिवङ्गत श्रीमान् विनय कसजूलाई स्मरणमा पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले कसजूले सूचनाको हकको अभियन्ता, वरिष्ठ पत्रकार तथा साहित्यकार र पर्यटनविद् भई देशको लागि गरेको योगदानको चर्चा गर्नुभयो । कार्यक्रमकै अवसरमा कसजूका समकालीन तथा सहकर्मी हेमबहादुर विष्टले कसजूले पाल्पा र काठमाडौंमा रहेर गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य, साहित्यकार विजय सागर, बुद्धिजीवि तथा शिक्षाविद् बुद्धिप्रसाद शर्मा, समाजसेवी कमल मलेगो, जनप्रतिनधि सोमनाथ अर्यालले कसजूले पाल्पामा रहँदा गरेको योगदानको चर्चा गर्नुभएको थियो ।

विनय कुमार कसजू स्मृति प्रतिष्ठानकी अध्यक्ष एवम् कसजूकी पत्नी गंगा कसजूको अध्यक्षता, स्मृति कसजूका जेष्ठ पुत्र अभिनव कसजूको स्वागत र तानसेन नगरपालिका–९ का वडाध्यक्ष राजेश कुमार अर्यालको सञ्चालनमा कार्यक्रम भएको हो ।









