पाल्पा, १२ मंसिर,
तानसेन बहुमुखी क्याम्पसको ३६ औं सभा शुक्रबार सम्पन्न भयो । सभाले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षको प्रस्तावित बजेट एवम् कार्यक्रम पारित गरेको छ ।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष राजन प्रसाद पन्तको अध्यक्षतामा भएको सभामा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सभाले आर्थिक वर्ष २०८१/०८२ को ६७ लाख ५५ हजार ६ सय ९ रुपैंया बराबरको आम्दानी खर्च विवरण आर्थिक वर्ष २०८२/०८३ को लागि अनुमानित ५८ लाख ५० हजार ५ सय २८ रुपैया बराबरको लेखापरीक्षण तथा अनुमानित बजेट पारित गरेको हो ।

सभाकै सन्दर्भमा क्याम्पसका प्रमुख संस्थापक तथा संरक्षक डा. रामप्रसाद शर्मा, क्याम्पसका उपप्राध्यापक पुनराम घिमिरे र सन्तविर बराललाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको क्याम्पस प्रमुख पुष्करराज रेग्मीले जानकारी दिनुभयो ।
सभाको उद्घाटन गर्दै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले क्याम्पसको शैक्षिक एवम् भौतिक विकासको लागि तानसेन नगरपालिकाले आवश्यक सहयोग प्रदान गर्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाप्रदान गर्दै तानसेन बहुमुखी क्याम्पसले शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको प्रसंशा गर्दै सम्मानित व्यक्तित्वलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा क्याम्पस सभा सदस्य एव्म पूर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डे, क्याम्पस सदस्य श्रीकृष्ण पोखरेल, वडा नं. ७ का अध्यक्ष प्रदीप खनाल, शिक्षाविद् एवम् पूर्व क्याम्पस सभा सदस्य बुद्धिप्रसाद शर्मा, क्याम्पसका उपप्राध्यापक रामप्रसाद ढकाल, वडा नं. ७ का पूर्व वडाध्यक्ष एवम् स्थानीय अभिभावक मुक्तिराम जि.सी., माण्डव्य बहुमुखी क्याम्पसका प्रमुख रुद्र बस्याल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना लगायतले मन्तव्य सहित महत्त्वपूर्ण सुझाव प्रस्तुत गर्नुभएको थियो ।
क्याम्पस प्रमुख एवम् क्याम्पस सञ्चालक समितिका सदस्य सचिव पुष्कर राज रेग्मीले क्याम्पस सभामा प्रस्ताव पारित गर्दै सभासद्हरूद्वारा निर्णयार्थ पारित गराउनुभएको थियो । कार्यक्रममा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई प्रमाणपत्र, पुरस्कार प्रदान गरिएको थियो । क्याम्पसका प्राध्यापक श्रीधर कुमार उपाध्यायको सञ्चालन र सभाध्यक्ष राजनप्रसाद पन्तको धन्यवाद ज्ञापनसहित सभा सम्पन्न भएको थियो ।










