भोजराज भट्टराई
पाल्पा, १५ मंसिर ।
“समृद्ध बगनासकाली गाउँको सार : समग्र विकासको दिगो आधार’’को लक्ष्यसहित अघि बढिरहेको पाल्पाको बगनासकाली गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाद्वारा चालु आ.व.२०८२।०८३ को प्रथम चौमासिकमा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिताका विषयमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

बगगनासकाली पत्रकार समुहको समन्वय र गाउँपालिकाको आयोजनामा गाउँपालिका सभाहलमा भएको कार्यक्रममा सहभागीहरूबाट आएका प्रश्नहरूको जवाफ सम्बन्धित शाखाका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक र गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले साउनदेखि कार्तिकसम्मको कामकारवाही, उपलब्धिर आगामी योजनाहरूको स्पष्ट प्रस्तुती राख्दै नागरिकबाट प्राप्त सुझार गुनासोलाई आत्मसाथ गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत पाण्डेले गाउँपालिकामा जम्मा भएको राजस्व संकलन, पञ्जिकरणका कामहरू, वडातहमा योजना सम्झौता, सामाजिक सुरक्षा भत्ता वितरण, वित्तीय प्रगति, शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायत शाखाका कामहरू, चौमासिक अवधिमा अन्य विभिन्न शाखाबाट भएका कार्यप्रगति, गाउँ कार्यपालिका बैठक लगायतका कामहरूका बारेमा प्रस्तुतीकरणसहित जानकारी दिनुभएको थियो ।
सार्वजनिक सुनुवाईमा स्थानीयबासी, विभिन्न क्षेत्रका सरोकारवालाहरूसहितका सहभागीहरूले गाउँपालिकाभित्र बाँदर नियन्त्रणको उपयुक्त उपाय खोज्न, कृषि र पशुमा बजेट बढाउन, अनुदानमा हुने दोहोरोपना हटाउन, वडातहसम्म पुग्ने सडकको स्तर उन्नती गर्न, खेलकूदलाई प्राथमिकतामा राख्न, बजेटमा मितव्ययिता अपनाउन, आन्तरिक लेखा परीक्षणलाई व्यवस्थित गर्न, रोजगार, स्वास्थ्य, शिक्षा लगायतका कार्यक्रममा भैरहेका राम्रा पक्ष समावेश गर्न र योजना तथा कार्यक्रममा सुधार गर्नुपर्ने विषयमा सुझाव दिनुभएको थियो ।
गाउँपालिकाले गोष्ठी सेमीनारलाई उपलब्धिमूलक बनाउन नसकेको, संघ प्रदेशका योजनाहरूमा आवश्यक अनुगमन हुन नसकेको, खानेपानी, सडक सुधारमा ध्यान पुग्न नसेकेको, सूचनाको हकको प्रयोग हुँदा समेत आवश्यक सूचना उपलब्ध हुन नसकेको, शिक्षा र सहकारीमा अनुगमन र निगरानी कमी भएको, योजनाहरूमा बजेटसहित खर्च सार्वजनिक आवश्यक मात्रामा नभएको भन्ने गुनासो र प्रश्न राख्नुभएको थियो ।
सहभागीहरूबाट उठेका विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, उपाध्यक्ष हरिप्रसाद पाठक, अध्यक्ष सरस्वती दर्लामी चिदीले जवाफ दिनुभएको थियो । स्थानीय सरकार घरदैलोको सरकार भएकाले नजिकको सरहकारसँग अपेक्षा हुनु स्वभाविक भएका भन्दै गाउँपालिकाले आवश्यकतालाई प्राथमिकता निर्धारण गरेर पालिकाको स्रोत अनुसार कार्यक्रम गर्दै आएको गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा प्रवाहको लागि गाउँपालिका प्रतिबद्ध रहेको भन्दै नागरिकका सुझावका आधारण थप गुणस्तीय र सर्वसुलभ सेवा प्रवाहमा गाउँपालिका परिवार जुट्ने बताउनुभयो । उहाँले समग्र गाउँपालिकाको विकास र समृद्धिको लागि साझा मत र सहयोग आवश्यक रहेको औंल्याउनुभयो । बगनासकाली पत्रकार समुहका सचिव दयाराज न्यौपानेले फिल्ड सर्वेक्षण प्रतिवेदन र अध्यक्ष भोजराज तिमिल्सिनाले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।









