अम्बिका पाण्डे
पाल्पा, २० मंसिर ।
लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको सरोकारवालाले बताएका छन् । देशमा प्रसस्त कानून, नीति, नियम, निर्देशिका, मापदण्ड बनेपनि त्यसको प्रभावकारी कान्र्यान्वन र सचेतना नहुँदा महिला हिंसाका घटनाहरु उजागर हुन नसकेको सहभागीको भनाई थियो ।
पाल्पाको बगनासकाली गाउँपालिकाले शनिबार आयोजना गरेको लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमका सहभागीले व्यक्ति स्वयम् सचेत र अनुशाशित भएमा हिंसा न्यूनीकरण हुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले समाजमा सचेतना बढाउने, हिंसा सहेर नबस्ने र हिंसामा परेकाहरुको लागि कानूनी उपचारमा सहयोग गर्न सकेमा हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले बगनासकाली गाउँपालिले विगतका समयदेखि लैंगिक हिंसा न्यूनीकरणका लागि समुदाय र वस्तीस्तरमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले बगनासकाली गाउँपालिका महिला मैत्री गाउँपालिका रहेको औंल्याउदै महिला शिक्षक मार्फत समुदायमा सचेतना जगाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले राजनीतिक परिवर्तनले समाजमा लैंगिक हिंसा कम हुँदै गएको बताउनुभयो । उहाँले व्यक्ति स्वयम् अनुशासित हुने र समाजमा अरुका लागि प्रेरणा जगाउँने कार्यक्रम गर्दै जानेहो भने समाजमा हिंसाका घटनामा कमी आउने औंल्याउनुभयो ।
कार्यक्रममा लैंगिक हिंसा विरुद्धको अभियानका विविध विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, सशस्त्र प्रहरी बल पाल्पाका गुल्मपति डिएसपी झुपा कुमारी पन्थी, गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन घिमिरे, महिला विकास शाखा प्रमुख धना कुमारी रानाले हिंसा न्यूनीकरणका लागि कानूनी सचेतना आवश्यक भएकोमा जोड दिनुभएको थियो ।
गाउँपालिकाले विद्यालयका महिला शिक्षक मार्फत बालबालिकामार्फत हुँदै समुदायमा सचेतना जगाउँन कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रमकै अवसरमा महिला शिक्षक, सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो । गाउँपालिकास्तरीय महिला सञ्जालकी विमला वस्यालको स्वागत र कार्यपालिका सदस्य एवम् कार्यकर्म संयाेजक गीता रेग्मीको सञ्चालनमा अन्तरक्रिया कार्यक्रम चलेकाे हाे ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिला माथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि महिला माथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि वि.सं. २०७५ कार्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।









