पाल्पा, २३ मंसिर
श्रमिकका समस्या, चुनौति सुधारका लागि संवाद उपयुक्त विकल्प भएको सरोकारवालाले बताएका छन् । श्रमिकको ज्यालामा विभेद, कार्यस्थलमा हुने समस्या, चुनौतिको समाधान गर्न संवादले सहयोगी भूमिका खेल्ने सहभागीले बताएका थिए । मंगलबार बगनासकाली गाउँपालिकाले आयोजना गरेको श्रमिकका सवाल सम्बन्धी सरोकारवाला विचको संवाद कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।


गाउँपालिकाका विभिन्न क्षेत्रमा कार्यरत ३० जना श्रमिक महिलाको सहभागिता रहेको कार्यक्रमका सहभागी श्रमिकहरूले पीडित महिलाले तालिम, अनुदान नपाएको, कामको उचित मूल्याङ्कन नपाएको, श्रम शोषण र विभेद भोग्नुपरेको गुनासो सार्वजनिक रूपमा व्यक्त गरेका थिए । नागरिक सरोकारका तर्फबाट बोल्दै कृष्ण भुसाल, मोहन थापा, सुशील बस्याल, वसन्त वस्याल लगायतले श्रमिक महिलाको स्वास्थ्य, सुरक्षा र समस्याका बारेमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । श्रमिक महिलालाई हेर्ने दृष्टिकोण बदल्न जरुरी रहेको, अनुत्पादक क्षेत्रमा गरिएका लगानी कटौती गर्नुपर्ने, श्रमिक महिलाको आवाज नीति निर्माण तहमा पु¥याउनुपर्ने सरारोकारवालाले सुझाव दिनुभएको थियो ।

बगनासकाली नागरिक सरोकार मञ्चको समन्वय, बगनासकाली महिला श्रमिक सञ्जाल र बगनासकाली युवा संगमको सहकार्यमा भएको कार्यक्रममा सहभागी श्रमिक महिलाले श्रमिकका अधिकार, हिंसा न्यूनीकरण र सम्मानजनक व्यवहारको लागि गाउँपालिकाले समन्वय सहकार्य गरेकोमा खुसी व्यक्त गरेका थिए । नागरिक सरोकारवाला र श्रमिकका जिज्ञासाबारे जवाफ दिदै गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, प्रवक्ता टिकाबादुर थापा, कार्यपालिका सदस्य गीता रेग्मी लगायतले श्रम सम्बन्धी कुनै पनि समस्या, चुनौति र विवादको शान्तिपूर्ण र संवादको माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभएको थियो । लैंगिक समानता र सुशासनको लागि गाउँपालिका प्रतिवद्ध रहेको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले श्रमिक महिला लक्षित कार्यक्रम सञ्चालन गर्दै श्रमिकलाई स्वरोजगार र आत्मनिर्भर हुने कार्यक्रम अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले श्रमिकको दुःख पीडाबारे गाउँपालिका सरकार जानकारी रहेकोले योजनाहरूमा महिला उपभोक्ता समिति गठन, लघु उद्यम कार्यक्रममार्फत महिलाहरूलाई सीपमुलक तालिम प्रदान, रोजगार कार्यक्रममा महिला सहभागिता र समान ज्याला लगायत महिला लक्षित कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

बगनासकाली नागरिक सरोकार मञ्चका अध्यक्ष हुमनाथ कोराइलाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, प्रवक्ता टिकाबहादुर थापा, विभिन्न वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, सरोकारवाला शाखाका कर्मचारी र श्रमिक महिलाहरूको सहभागिता रहको थियो । लंैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गाउँपालिकाले महिला लक्षित अन्य कार्यक्रमसमेत सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।









