पाल्पा २९, मंसिर ।
शिक्षकहरूको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले रम्भा गाउँपालिकाभित्रका शिक्षकलाई प्रश्नपत्र निर्माण सम्बन्धी तालिम रम्भा गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख मिना देवी आचार्यका अनुसार गाउँपालिकाभित्रका ३३ वटा विद्यालयका कक्षा चार देखि आठ कक्षा सम्म पढाउने १५१ जना शिक्षकहरूलाई अंग्रेजी, विज्ञान, गणित, सामाजिक र नेपाली विषयको प्रश्नपत्र निर्माण सम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

मंसिर २६ र २७ गतेसम्म चलेको तालिममा नेपाली र सामाजिक विषयका विशेषज्ञका रूपमा कालीगण्डकी गाउँपालिका र गल्याङ्ग नगरपालिकाबाट समन्वय गरिएको थियो । नेपाली विषय विशेषज्ञको रुपमा कालीगण्डकी गाउँपालिका अन्तर्गत भगवती मा.वि.का शिक्षक राम प्रसाद पाण्डे र हेमन्त पराजुली रहनुभएको थियो । यस्तैगरी सामाजिक विषयको विशेषज्ञको रूपमा गल्याङ्ग नगरपालिका अन्तर्गत शिशु कल्याण मा.वि.का शिक्षक मिन प्रसाद सुवेदी र भानु भक्त आचार्य मा.वि.को तिलक राम आचार्यले तालिममा सहजीकरण गर्नुभएको शिक्षा शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो । जम्मा ११ जना विषय विशेषज्ञ मध्ये अन्य ७ जना विशेषज्ञ रम्भा गाउँपालिकाका भित्रका विद्यालयबाट सहभागी रहेको आचार्यले बताउनुभयो ।
तालिम समापन सभाका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले सिकेका सीपलाई कार्यस्थलमा प्रयोग गरी शैक्षिक गुणस्तर अभिवृद्धिमा लाग्न शिक्षकहरूलाई अनुरोध गर्नुभयो । उहाँले प्रविधिलाई पछ्याउँदै शैक्षिक सामग्री निर्माण, नमूना प्रश्नपत्र निर्माण सहित गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिकाले आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा सहभागी शिक्षकहरूले आफुले सिकेका सीपका विषयमा अनुभव आदान प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख मिना देवी आचार्यले गर्नुभएको थियो । रम्भा गाउँपालिकाले शैक्षिक क्रियाकलाप अन्तर्गत विद्यार्थीसँग करेसाबारी कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । विद्यार्थीसँग करेसाबारी कार्यक्रमले विद्यार्थीलाई पढ्दै कमाउँदै र कृषि पेशा प्रतिको आकर्षण बढाउने गाउँपालिकाले बताएको छ । रम्भा गाउँपालिकाभित्र माध्यमिक विद्यालय ९ र आधारभूत २९ गरी ३५ वटा विद्यालय रहेका छन् ।










