पाल्पा, ३ पौष ।
घरदैलोमा सुत्केरी जाँच कार्यक्रमको समीक्षा तथा वार्षिक कार्ययोजना कार्यक्रम बिहिबार बगनासकाली गाउँपालिकामा सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको समीक्षा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेको अध्यक्षता र कार्यवहाक अध्यक्ष हरिप्रसाद पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका जनस्वास्थ्य अधिकृत हुमनाथ आलेले सहजीकरण गर्नुभएको थियो । सोही अवसरमा नवजात शिशु र आमाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सुत्केरीको घरमै पुगी स्वास्थ्य सेवा दिदैँ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताउनुभयो । ‘नेपाल सरकारको प्रोटोकल अनुसार सुत्केरी भएको चौविस घण्टा, तीन दिन, सात दिन र बायालिस दिनमा जाँच गराउनुपर्ने हुन्छ,’उहाँले भन्नुभयो, ‘नवजात शिशु र आमाको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीलाई तीन दिन र सातदिनमा घर घर पठाएका छौं ।’ गाउँपालिकाको नौ वटै वडामा नर्सीङ स्वास्थ्यकर्मी परिचालन गरी सुत्केरीको घरघरमा पुगी स्वास्थ्य परीक्षण गरिरहेको उहाँको भनाई छ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुत्केरी महिलाको घरमै पुगी स्वास्थ्य सेवा दिने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका कार्यवहाक अध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरू र अपाङ्गता भएकाहरूको लागि समेत घरदैलोमा पुगेर गाउँपालिकाले सम्मान तथा अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले समुदायमा स्वास्थ्यकर्मीहरू जनताको सवैभन्दा नजिक रहेर सेवा गर्ने भएकाले प्रोटोकल अनुसार सहज र गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई सुझाव दिनुभयो ।
गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका सुनिश्चितता दिगोपना कार्यक्रम गर्नको लागि पौष महिनाभित्र घरघरमा तथ्याङ्क संकलनको काम सक्नेगरी कार्ययोजना तय भएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो । उहाँले माघ महिनाभित्र गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका सुनिश्चिताको कार्यक्रम गरीने समेत जानकारी दिनुभयो । समीक्षा कार्यक्रममा गाउँपालिकाका सवै संस्थाबाट नर्सिङ कर्मचारीको सहभागिता रहेको थियो ।









