पाल्पा,परेवा ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान पाल्पाको पाचौं साधारण सभा तानसेनमा सम्पन्न भएको छ । प्रतिष्ठानका सभापति समिरमान सिंहको अध्यक्षतामा भएको सभाका प्रमुख अतिथि संस्थापक सभापति रामलाल श्रेष्ठ हुनुहुन्थ्यो ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले प्रतिष्ठान स्थापनाकालको स्मरण र योगदानको बारेमा चर्चा गर्दै संस्थाको विकासको लागि निरन्तर सहकार्य र समन्वय जारी राख्ने बताउनुभयो । उहाँले स्वास्थ्य नै धन भएकाले मानिसहरूलाई स्वस्थ राख्ने अभियानमा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्नुभयो ।
साधारण सभामा सभापति समिरमान सिंहले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष दिपक श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदन सर्वसम्मतरूपमा पारित भएका थिए। सोही अवसरमा प्रतिष्ठानका आजीवन सदस्य खगराज अर्यालले मुटु उपचार र आकस्मिक केन्द्र स्थापनासम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले मुटु, मृगौला, सुगरजस्ता रोगहरूको बारेमा जानकारी गराउँदै आहारविहार र जीवनशैलीका बारेमा समेत जानकारी गराउनुभएको थियो ।
साधारण सभामा प्रतिष्ठानका सल्लाहकार बुद्धिप्रसाद शर्मा, विशिष्ट सदस्य शकुन्तला बज्राचार्य, आजीवन सदस्य सरोजलाल श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष समिरमान सिंहको अध्यक्षता, उपसभापति खगराज अर्यालको स्वागत र सचिव सुशीलप्रसाद प्रधानको सञ्चालनमा कार्यक्रम भएको थियो ।
पाल्पामा रामलाल श्रेष्ठको सक्रियतामा प्रतिष्ठान स्थापना भएको हो । उहाँले एक लाख बराबरको उत्कृष्ट पद ‘एस एस कर सदस्य’ लिनु भएको छ । यो पद प्रतिष्ठानको नेपालकै उत्कृष्ट पद हो। प्रतिष्ठानले बाल मुटु बचाउ, टन्सील पाकेर उपचार नपाएका, मुटु रोगीहरूको पहिचान गरी उनीहरूलाई उचित उपचार र परामर्श जस्ता कार्यहरू गर्दै आएको छ । प्रतिष्ठानमा २ सय बढी सदस्य रहेको आयोजकले जानकारी दिएको छ। जसमा १५ बढी विशिष्ट सदस्य रहनुभएको छ ।
यसैविच प्रतिष्ठानले साधारण सभाको अवसरमा आजीवन सदस्य शकुन्तला बज्राचार्यलाई विशिष्ट सदस्यताको प्रमाण पत्र प्रदान गरेको थियो। साधारण सभाको बन्द सत्रमा वार्षिक प्रतिवेदनमाथि छलफलसहित पारित, आर्थिक प्रतिवेदनमाथि छलफलसहित पारित भएको थियो । साथै साधारण सभामा प्रस्तुत अवधारणा पत्रलाई कार्यान्वयनमा लैजाने निर्णय भएको प्रतिष्ठानका सदस्य पुष्कर अथक रेग्मीले जानकारी दिनुभयो ।









