
भोजराज भट्टराई
पाल्पा, २३ पौष ।
बगनासकाली गाउँपालिकामा हिउँदे अधिवेशन सुरु भएको छ । बुधबार गाउँसभाको १९ औं अधिवेशन अन्तर्गत पहिलो बैठक सम्पन्न भएसँगै यो अधिवेशन सुरु भएको हो ।
गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले अधिवेशन पानसमा दीप प्रज्वलन गर्दैै औपचारिक बैठक प्रारम्भ गर्नुभएको हो । गाउँसभामा गाउँसभा सदस्य टिकाबहादुर थापा, यमलाल तिमिल्सिना, कृष्ण प्रसाद वस्याल र राजेन्द्र वस्यालले समसामयिक विषय उठान गर्नुभएको थियो ।

शून्य समयमा सुझाव राख्ने गाउँसभा सदस्यले विषयगत समितिबाट प्रस्तुत भएका प्रतिवेदन कार्यान्वयन प्रभावकारी बनाइनुपर्ने, मेला महोत्सव सञ्चालन गर्दा गाउँपालिकाको हित हुने गरी गर्नुपर्ने, कृषि र पर्यटनमुखी कार्यक्रम बनाई कार्यान्वयनमा जोड दिनुपर्ने, जेष्ठ नागरिक अधिकारमा न्यायिक समितिले ध्यानदिनुपर्ने र तरकारीमा आत्मनिर्भर बनाउनेगरी कृषकलाई कृषि साक्षरता बढाउने र कृृषि उपज संकलनका लागि कार्यविधि बनाएर कृषि एम्बुलेन्स सञ्चालन गर्नुपर्ने सुझाव राख्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिनुभयो ।
सहभागीका सवालबारे जवाफ दिँदै गाउँसभा सदस्य एवम् गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले करको दायरा बढाई आन्तरिक आम्दानीमा वृद्धि गर्न छलफल चलाइने, आवश्यक ऐन, नियम बनाएर कार्यक्रम सञ्चालन गरिने र वातावरणीय प्रभाव मूल्याङ्कन गरी नदीजन्य पदार्थ उत्खनन् गरिने जानकारी दिनुभयो । उहाँले सार्वजनिक सूचना मार्फत मेला महोत्सव सञ्चालन गरिने, जेष्ठ नागरिकको सवालमा आवश्यक कार्यक्रम सञ्चालन गरिने सोंच रहेको बताउनुभयो ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकबाट चालु आर्थिक वर्ष २०८२ को स्वीकृत विनियोजन विधेयक– २०८२ अन्तर्गतका आयोजना, कार्याक्रमको रकमान्तर तथा खर्च कटौती सम्बन्धी प्रस्ताव पेश भएको छ । यस्तैगरी विधेयक समितिका संयोजक उमाकला अर्यालबाट गाउँ प्रहरी व्यवस्थापन विधेयक – २०८२ सम्बन्धी प्रस्ताव पेश भएको छ । जसमा आगामी बैठकमा छलफल हुनेछ । त्यसपछि यी विषय कार्यान्वयनमा अघि बढ्ने बताइएको थियो ।
सभामा विषयगत समितिका संयोजकले चालु आर्थिक वर्षको अर्ध वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । विधेयक समिति संयोजक उमकला अर्याल, न्यायिक तथा राजस्व परामर्श समिति संयोजक हरिप्रसाद पाठक, लेखासमिति संयोजक कृष्ण प्रसाद वस्याल, आर्थिक विकास समितिको संयोजक खुमादेवी भट्टराई, सामाजिक विकास समिति संयोजक गीता रेग्मी, पूर्वाधार विकास समिति संयोजक तेज प्रसाद रसाली, र सुशासन तथा संस्थागत विकास समितिका संयोजक वसन्ती थापाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाको १९ औं अधिवेशनसम्म आउँदा २३ ऐन, नियमावली, ७४ कार्यविधि ५ निर्देशिका स्वीकृत भएको छ । यस्तैगरी गाउँपालिकामा ८ वटा उजुरु दर्ता भएको, सामाजिक विकास समितिलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम सञ्चालन गरिनुपर्ने लगायतका सुझाव पेश भएका थिए । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले अर्धवार्षिक कार्यसम्पादन समीक्षा पेश गर्दै सार्वजनिक सेवा प्रवाह र योजनाको काम सन्तोषजनक रहेको, प्राप्त सुझावबारे आवश्यक छलफलसहित आगामी कार्यक्रम अगाडी बढ्ने बताउनुभयो ।
भोजराज भट्टराई
पाल्पा, १९ पौष ।
पत्रकारलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित रूपमा कलम चलाउन दलले अंकुश लगाउन नहुनेमा एक कार्यक्रममा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको ३४ औं स्थापना दिवस एवम् अन्तरक्रिया कार्यक्रममा शुभकामना राख्ने धेरैजसो वक्ताले पत्रकारहरूले निश्चित विचार र आस्थाभन्दा माथि उठेर निष्पक्ष पत्रकारिता गर्ने आँट गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् महासंघ पाल्पा शाखाका संस्थापक अध्यक्ष मेघराज शर्माले पत्रकार महासंघ पाल्पाको विगतको इतिहास गौरवपूर्ण रहेको स्मरण गर्दै जवाफदेही र अनुशासन कायम गर्दै विगतको गरिमा कायम राख्न आग्रह गर्नुभयो । उहाँले पत्रकारिता बलियो बनाउँदा लोकतन्त्र बलियो हुने भन्दै पत्रकारितामा राजनीतिक गन्ध आउन दिन नहुनेमा समेत जोड दिनुभयो । समानुपातिक विज्ञापन नीति व्यवहारमा लागु हुन नसक्दा स्थानीय मिडिया संकटमा रहेकोले समानुपातिक विज्ञापन नीति व्यवहारमा लागु गराउनतर्फ महासंघले पहल गर्नुपर्ने शर्माले धारणा राख्नुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले सिङ्गो समाज र देशको चित्र कोर्ने पत्रकारहरू आफ्नो चरित्रको बारेमा निष्पक्ष ढंगले प्रस्तुत हुनुपर्ने बताउनुभयो । दिवस समारोहको शाख कायम राख्न आग्रह गर्दै उहाँले पत्रकारलाई दलले अंकुश लगाउन नहुनेमा जोड दिनुभयो । ‘गलत कुराको धज्जी उडाउने आँट पत्रकारले गर्न सक्नुपर्दछ’ रानाले भन्नुभयो, ‘कुनै दल विशेषको आस्था र विचारभन्दा माथि रहेर पत्रकारले कलम चलाउनु पर्दछ ।’ उहाँले पत्रकारको परिपक्वताको लागि विभिन्न क्षमता अभिवृद्धिका तालिमहरू पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले संस्थालाई जीवन्त राख्न महासंघ संस्थागत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महासंघलाई राजनीतिक दलले सुखदुःखको साथी सम्झने गरेको निरन्तर सहकार्य समन्वय रहने बताउनुभयो । । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सुमन गैरेले राजनीतिले गर्दा केही पत्रकारहरू थिचोमिचोमा पर्ने गरेको भन्दै पत्रकारलाई दलीय आस्थाभन्दा स्वतन्त्र रहन दिनुपर्नेमा धारणा राख्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट यादव बहादुर रायमाझी, राप्रपा प्रतिनिनिधि रमेश विरजंग राणाले शुभकामना मन्तव्य राख्दै पत्रकारिता जस नपाउने पेशा भएपनि कसैको दवाव र प्रभावमा नपरी आफ्नो धर्म निर्वाहमा निरन्तर लाग्दा सफलता प्राप्त हुने बताउनुभयो ।
स्थापना दिवसको अवसरमा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, बगनासकाली गाउँपालिकाका अध्यक्ष सस्वती दर्लामी चिदी, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले स्थानीय तहले स्थानीय मिडिया संरक्षणमा सहयोग समन्वय गर्दै आएको स्मरण गर्दै सूचनालाई सहि समयमा सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गरेमा पत्रकारिताको विश्वसनियता बढ्ने बताउनभयो ।
यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु बहादुर कार्की, पत्रकार महासंघका सल्लाहकार कृष्ण दर्नाल, संस्थापक सचिव भरत शर्माले शुभकामना मन्तव्य राख्दै पत्रकारिता विना विकास निर्माण र सुशासनको परिकल्पना गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई, झपेन्द्र गहिरेले पाल्पाली पत्रकारिताको विगतको इतिहास र योगदानका विषयमा चर्चा गर्नुभएको थियो । महासंघका पूर्व अध्यक्ष भगवान भण्डारीले नागरिक समाजको रूपमा पत्रकारितामा महासंघले खेलेको भूमिका र योगदानका बारेमा बोल्नुभएको थियो । उहाँले स्थानीय मिडियाको संरक्षणमा स्थानीय सरकार र सरोकारवाला निकायले चासो दिनुपर्ने र पत्रकारहरूलाई दलले हस्तक्षेप गर्न नहुने भन्दै पत्रकारलाई स्वतन्त्र हुन दिनुपर्नेमा जोड दिनुभयो ।
महासंघका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले पत्रकारिताको विगत र वर्तमानको अवस्था चित्रण गर्नुभयो । उहाँले पत्रकारले आफ्नो पेशालाई टिकाइराख्न मिडियाको बहाव बुझ्न आवश्यक रहेको भन्दँै समाजलाई मिडिया साक्षरता बुझाउनुपर्ने बेला आएको बताउनुभयो । पत्रकार र कन्टेन्ट राइटरमा भेद रहेको उल्लेख गर्दै अर्यालले गहिरो अध्ययन गर्दै पत्रकारिताको दायित्व पूरा गर्न सकेमा पत्रकारहरू स्थापित हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सिनाले सहभागीको सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताउँदै महासंघको गरिमालाई उच्च राख्न प्रतिवद्ध रहेको जनाउनुभयो । उपाध्यक्षद्वय मुक्ति न्यौपानेले स्वागत, बन्दना पोखरेलले धन्यवाद ज्ञापन र सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
पाल्पा ।
एसबिआई बैंक पाल्पा शाखाले एक विषेश कार्यक्रमको आयोजना गरी दमकडा माध्यमिक विद्यालयमा अध्ययन गर्ने दृष्टिबिहीन विद्यार्थीलाई ल्यापटप, विभिन्न खेलकुद सामग्री तथा जाडोमा लगाउने न्यानो कपडा (स्कूल पोशाक) सहितका शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका माझ एसबिआई बैंक पाल्पा शाखाका शाखा प्रबन्धक बिजय घिमिरेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार आर्याल तथा प्रधानाध्यापक मोहनप्रसाद सापकोटालाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै शाखा प्रबन्धक घिमिरेले विद्यालयले दृष्टिबिहीन विद्यार्थीलाई अध्यापन गराएर एक बहुआयामिक विद्यालयको रुपमा आँफूलाई स्थापित गरेकोमा खुसि व्यक्त गर्दै आगामि दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसै अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ता.न.पा ९ का अध्यक्ष अर्यालले बैंकको सामाजिक उत्तरदायित्तव अन्तर्गत प्रदान गरेको सहयोगप्रति खुसि व्यक्त गर्दै धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक होत्रीराज ढुंगानाको संचालनमा भएको थियो ।
पाल्पा, १५ पौष ।
स्थानीय मिडियाको संरक्षण, विज्ञापन नीति तथा सूचनाको हकलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पौष १५ गते बुधबार विज्ञापन बोर्डको आयोजना तथा नेपाल पत्रकार महासंघ पाल्पा शाखाको समन्वयमा पाल्पाको तानसेनमा आयोजना गरिएको विज्ञापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताले विज्ञापनलाई खर्च होइन लगानी सम्झनु पर्ने समेत बताएका हुन ।
विज्ञापन बोर्डका कार्यकारी निर्देशक लक्ष्मण हुमागाईले विज्ञापनले बजारलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीलाई विज्ञापन क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘बोर्डले हाल रेडियो, टेलिभिजन र पत्रपत्रिकालाई लोक कल्याणकारी विज्ञापन वितरण गरिरहेको छ । अनलाइन मिडियाका हकमा हालसम्म यो व्यवस्था हुन नसकेपछि आगामी दिनमा अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने पहल भइरहेको छ ।’

विज्ञापन बोर्डका उपसचिव देवी पाण्डे खत्रीले विज्ञापन बोर्डले आवश्यकता अनुसार सञ्चारकर्मीको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको जनाउँदै स्थानीय सरकारले विज्ञापनलाई सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तहमा विज्ञापनलाई व्यवस्थित बनाउन आगामी नगरसभाबाट ‘विज्ञापन सम्बन्धी ऐन’ पास गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले विज्ञापन वितरणमा ‘एकद्वार नीति’ लागु गर्नुपर्नेमा जोड दिनुभयो । यसो गर्न सकिएमा स्थानीय मिडिया हाउसहरूलाई आर्थिक राहत पुग्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारीले स्थानीय मिडिया जोगाउन सरोकारवाला संस्थाले समन्यायिक भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाको विज्ञापन जिल्लाका मिडियामार्फत प्रकाशन, प्रसारण गरेर स्थानीय मिडिया जोगाउनतर्फ स्थानीय कार्यालय र निकायले चासो दिनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सिनाले जिल्लाका विज्ञापनहरू स्थानीय मिडियालाई नै प्राथमिकताका साथ वितरण गर्नुपर्ने माग राख्नुभयो । उहाँले स्थानीय मिडियाको अस्तित्व रक्षाको लागि स्थानीय विज्ञापनको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, नव जनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई, जिल्ला हुलाक कार्यालय पाल्पाका कार्यालय प्रमुख अर्जुन चौधरी, भू–तथा जलाधार कार्यालय पाल्पाका प्रमुख रोवर्ट महरा, खानेपानी कार्यालय पाल्पाका प्रमुख गुणनीधि पोखरेल, लगायतले जिल्लामा विज्ञापन वितरण प्रणाली पारदर्शी नभएको र विभिन्न समस्या देखिएको गुनासो गर्नुभएको थियो । जिल्लाका विभिन्न सञ्चागृहका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवालाको कार्यक्रममा सहभागिता रहेको थियो ।
भोजराज भट्टराई
पाल्पा, १२ पौष ।
गाउँसरकारका असल अभ्यासबारे बताउँदै गाउँका जमिन हराभरा बनाउने उद्देश्यले पाल्पाको रिब्दीकोट गाउँपालिकाले बजारीबासीहरूसँग छलफल अगाडि बढाएकोछ । शनिबार काठमाडौंमा रहेका रिब्दीकोटबासीहरूसँग रिब्दीकोटको समग्र विकासबारे छलफल चलाइएको र यसअघि पौष १० गते रुपन्देहीमा समेत अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले टेलीफोन संवादमा सुनाउनुभयो ।

‘गाउँपालिकाले एक बोट सयको नोट अभियान चलाएको छ, योसँगै रिब्दीकोटको विकासमा चासो राख्ने बजारबासीहरूसँग सहकार्य, समन्वय गर्दै गाउँपालिकालाई समृद्ध बनाउनेगरी छलफल चलाइएको हो’, अध्यक्ष कार्कीले बताउनुभयो । गाउँका बाँझा जमिनमा लगानी बढाई कृषि पकेट क्षेत्रलाई विस्तार गर्न, गाउँपालिकाको विकासबारे बजारबस्नेहरूका अनुभव, सुझाव प्रतिक्रिया संकलनका लागि छलफल चलाइएको अध्यक्ष कार्कीको भनाई छ ।
पौष १० गते बिहिबार पाल्पाको रिब्दीकोटलाई सम्मुन्नत र समृद्ध गाउँपालिका बनाउन रुपन्देहीमा बसोबास गर्ने रिब्दीकोटबासीहरूसँग छलफल तथा अन्तररिक्रयामार्फत राय सुझाव सङ्कलन गरिएको सूचना अधिकारी रूकलाल भट्टराईले जानकारी दिनुभयो । योसँगै पर्यटकीय स्थल जलेश्वरको प्रवद्र्धन गर्न माघ २२ गतेदेखि हुने जलेश्वर शिवपुराण महायज्ञको प्रचार प्रसारका लागि समेत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको भट्टराईले बताउनुभयो ।

रिब्दीकोट गाउँपालिकामा जन्मेर विभिन्न शहर बजारमा क्रियाशिल दिग्गजहरूबाट आवश्यक राय लिने क्रममा रुपन्देहीमा रहेका उच्च पदस्थ, प्रबुद्ध वर्ग र सरोकारवाला समुदायसँग सुझाव लिइएको भट्टराईले परेवालाई जानकारी दिनुभयो । गाउँपालिकाको सर्वाङ्गिग विकास गर्दै जनतालाई सुखी, सम्पन्नशाली, समृद्ध, विकसित र आत्मनिर्भर बनाउने उद्देश्यका साथ फरक फरक क्षेत्रमा आवद्ध विभिन्न तह र तप्कामा रहेका रिब्दीकोटबासीबाट सुझाव लिन अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिका पूर्व अध्यक्ष नारायण बहादुर जिसी, उपाध्यक्ष कान्ता अधिकारी, वडाका वडाध्यक्ष, जलेश्वर शिवपुराण महायज्ञ सञ्चालन समितिका संयोजक वेणीमाधन आचार्य, र प्राविधिक सहयोगका लागि केही कर्मचारीको सहभागिता रहेका गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकालाई दिगो विकास र समृद्धितर्फ लैजान कार्यक्रम आयोजना गरिएको निष्कर्ष गाउँपालिकाको छ ।
पाल्पा, १२ पौष ।
महिला समन्वय समिति, तिनाउ गाउँपालिका वडा नं.१ कचल, पाल्पाले वडाभित्र रहेका महिलाहरुका लागि तीन दिवसीय ‘महिला प्रशिक्षण तालिम’ शनिवारदेखि कचलमा सुरु गरेको छ ।
तालिममा महिला सशक्तिकरण, उद्यमशीलता, महिला हिंसाका कारण र रोकथामका उपायहरु, संस्कृति र सम्पदा संरक्षणमा महिलाको भूमिका, बालविवाहका कारण, रोकथाम र कानुनी सजायँका साथै समूहहरुमा राखिने हिसाव कितावका बारेमा सामाजिक अभियन्ता राजेश श्रेष्ठ, महिला अधिकारकर्मी सावित्रा राना र संरक्षणकर्मी दलबहादुर गुरुङकाे सहजीकरण रहने छ ।
तालिममा वडाका ठूलीउदाङ, झिंगामारा, ओखलढुंगा, काफलबारी, कचलफाँट, बुढीकोट, आरुखुदी गाउँका १९ वटा महिला समूहका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरि ५७ जनाको सहभागिता रहेको महिला समन्वय समितिकी सचिव शान्ता कुँवरले बताउनुभयो ।
उक्त तालिमको आयोजना महिला समन्वय समिति, तिनाउ–१ कचल र आर्थिक सहयोग तिनाउ गाउँपालिकाले गरेको छ ।
आयोजकका अनुसार, तालिमको उद्देश्य महिलालाई आत्मनिर्भर, सशक्त र नेतृत्वक्षम बनाउँदै सामाजिक परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्न सक्षम बनाउनु रहेको छ ।
भोजराज भट्टराई
पाल्पा, १२ पौष ।
तानसेनस्थित श्री मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाको उद्घाटन सहकारीका पूर्व अध्यक्ष मोहनप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
उहाँले बैंकको ब्याजदरमा कमी, आर्थिक गतिविधि चलायमान नहुँदा व्यवसायीहरूमा उत्साह हुन नसकेको बताउनुभयो । त्यसको असर पाल्पाका सहकारीमा समेत परेको भन्दै उहाँले शेयरसदस्यमैत्री कार्यक्रममा लगानी बढाउँदै अगाडि बढ्न सुझाव दिनुभयो । श्रेष्ठले सहकारी स्थापना गर्न गरेका संघर्ष र सफलताबारेमा स्मरण गराउनुभयो ।
कार्यक्रममा संथाका अध्यक्ष विनोद पन्थीले वार्षिक प्रतिवेदन, सहकारीको भावी रणनीति र कोषको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभयो । साधारण सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक विनायक महर्जनले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सवै प्रतिवेदनहरू सर्वसम्मत पारित भएको थियो ।
साधारण सभामा निवर्तमान अध्यक्ष देव बहादुर पचभैया, सल्लाहकार राजु महर्जन, भिमसेन कार्की, हरि रायमाझी, शेयर सदस्यको तर्फबाट भोजराज भट्टराई, मुक्तिराम जिसी लगायतले शुभकामना मन्तव्य राख्दै संस्थाको उद्देश्य अनुरुप कृषि क्षेत्रमा थप ऋण लगानी गर्न र नियमक निकायहरूले जारी गरेका निर्देशनहरूको पालना गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।
सहकारीमा आ.व.२०८१।८२ कुल शेयर पूँजी ९९ लाख ७० हजार एक सय रहेको, निक्षेप बाँकी ५ करोड २० लाख ८० हजार चार सय ३५ रुपैंया रहेको आयकर पछिको नाफा ५ लाख ५५ हजार ४ सय २७ रुपैंया रहेको सचिव समिरमान सिंहले जानकारी दिनुभयो । सहकारीमा १ हजार २ सय ६ जना शेयर सदस्य रहेको र आर्थिक वर्ष २०८२÷८३ को अनुमानित बजेट १० करोड ४५ लाख ४७ हजार ३ सय रहेको अध्यक्ष विनोद पन्थीले बताउनुभयो ।
सहकारीका अध्यक्ष विनोद पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शंकर भण्डारी र सञ्चालन सचिव समिर मान सिंहले गर्नुभएको थियो । सहकारीले आर्थिक सुशासन कायम गर्न खर्चमा मितव्ययिता र कार्यक्रमलाई छरितो शैलीमा सञ्चालन गर्दै आएको छ ।
भोजराज भट्टराई
पाल्पा, ७ पौष ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको (चौथो चरण) मोडालिटीबारे सोमबार बगनासकाली गाउँपालिकामा अभिमुखीकरण गरिएको छ । वैदेसिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबारे सोमबार जनप्रतिनिधि, विषयगत शाखा प्रमुख र सरोकारवालाहरूमाझ अभिमुखीकरण कार्यक्रम गरिएको गरेको हो ।

कार्यक्रममा सुरक्षित आप्रवासन लुम्बिनी प्रदेश कार्यक्रम व्यवस्थापक विजय ठाकुर, पाल्पा जिल्लाका कार्यक्रम संयोजक दिनेश घिमिरे र बगनासकालीका रोजगार संयोजक सरीता पाण्डेले सामी कार्यक्रमको उपलब्धि, समस्या र समाधानका प्रयासबारे प्रस्तुतीकरण राख्नुभएको थियो ।
सामी प्रदेश व्यवस्थापक विजय ठाकुरले वैदेशिक रोजगार सम्बन्धी नयाँ संशोधित कानूनका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले सुरक्षित आप्रवासनबारे प्रदेश कार्य विभाजन नियमावली, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वैदेशिक रोजगार सम्बन्धी भएका व्यवस्था, एकिकृत श्रम तथा रोजगार सेवा प्रवाह सम्बन्धी अवधारणा, नेपालमा वैदेशिक रोजगारको सकरात्मक प्रभाव र वैदेशिक रोजगारीको चुनौती तथा समस्याका विषयमा समेत प्रस्तुतीकरण गर्नुभएको थियो ।

जिल्ला कार्यक्रम संयोजक दिनेश घिमिरेले वैदेशिक रोगगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो । उहाँले आप्रवासी स्रोत केन्द्र र सहायता कक्षबाट हुने सेवाप्रवाह र सहजीकणका विषयमा समेत प्रस्तुतीकरण राख्नुभएको थियो । उहाँले जिल्लामा वैदेशिक रोजगारका क्रममा हुने ठगीबारे पर्ने उजुरीका विषयमा छलफल गराउने, पैसा दिलाउने, मिलापत्र गराउने काममा सामी परियोजनाले सहजीकरण गरिरहेको जानकारी दिनुभयो ।

बगनासकालीका रोजगार संयोजक सरीता पाण्डेले वैदेशिक सेवाको लागि रोजगार सेवा केन्द्रबाट भएका कार्यप्रगति, समन्वय र सहकार्यका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, प्रवक्ता टिकाबहादुर थापा, कार्यपालिका सदस्यहरू, विषयगत शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

अभिमुखीकरण कार्यक्रमको समापन गर्नुहुँदै बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले वैदेशिक रोजगारको लागि आइपर्ने समस्या समाधानका लागि साझा पहल पर्यन्त आवश्यक हुनेमा जोड दिनुभयो । उहाँले सामी परियोजना कार्यान्वयनको लागि जिल्ला, प्रदेशबाट निरन्तर सहयोग, समन्वयको अपेक्षा रहेको बताउनुभयो । अभिमुखीकरण कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत सुजन घिमिरेले गर्नुभएको थियो ।
भोजराज भट्टराई
पाल्पा, ५ पौष ।
साहित्यकार पुष्कर अथकको उपन्यास कृति ‘अमरामृत’ शनिबार सार्वजनिक भएको छ ।
कृति खड्गशम्सेर र रानीमहलमा आधारित रहेको छ । पाल्पा साहित्य समाजको आयोजनामा तानसेनमा आयोजित एक समारोहमा प्रमुख अतिथि खड्ग फाउण्डेशनका अध्यक्ष एवम् खड्ग शम्सेरका पनाती डा. अजय शम्सेर जबराले अथकको कृतिले खड्गशम्सेरबारे गुमेको इतिहास फर्किएको अनुभूति भएको बताउनुभयो । उहाँले रानीमहल सुन्दर, जीवित राख्न सवैको प्रयास जरुर रहेको समेत औंल्याउनुभयो ।

कृतिको समीक्षा साहित्यकार भागवत खनाल र अर्चना शाक्यले गर्नुभएको थियो । समीक्षकद्वयले सेनवंशीय भौतिक सम्पदाको खोजी र संरक्षणमा थप प्रयास आवश्यक रहेको औंल्याउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वरिष्ठ पत्रकार मेघराज शर्माले पाल्पा र पाल्पालीको गौरव रानीमहलको विषय समावेश गरिएको कृतिले उचित बजार पाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका पर्यटन विकास समिति संयोजक पदमराज न्यौपाने, सम्पदा प्रतिष्ठान पाल्पाका अध्यक्ष रामजीप्रसाद ढुंगाना, साहित्यकार सीताराम घिमिरे र पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले मन्तव्य राख्दै पाल्पाको सांस्कृतिक पर्यटन विकासको लागि सम्पदा संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कृतिकार पुष्कर अथक रेग्मीको धन्यवाद ज्ञापन र सचिव सविता भट्टराईको सञ्चालन रहेको थियो । अथकको ‘अमरामृत’ कृतिको प्रकाशकमा गोपाल पौडेल रहनुभएको छ । जम्मा ३ सय ३६ पृष्ठको कृतिको मूल्य ८ सय ५५ रुपैंया राखिएको छ ।

भोजराज भट्टराई
पाल्पा, ५ पौष ।
तानसेनस्थित श्री लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिबार २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाको उद्घाटन सहकारीका अध्यक्ष हरि रायमाझीले गर्नुभएको थियो । उहाँले सहकारीको स्थापनाकालको स्मरण गर्दै २०५७ सालमा ३० जनाबाट सेवा शुरु गरको सहकारीमा हाल १ हजार ६ सय ६ जना शेयर सदस्य रहेको र सहकारीले आफ्नै भवनबाट कारोबार सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

हाल विश्वमा आर्थिक मन्दिले गर्दा व्यापार, व्यवसाय गतिशील रुपमा चलायमान हुन नसको हुँदा त्यसको असर सहकारी संस्थाहरुमा समेत परेको अध्यक्ष रायमाझीले औंल्याउनुभयो । उहाँले अपेक्षा अनुसार संस्थाले प्रगति हासिल गर्न नसक्नुमा देशको आर्थिक मन्दीसमेत रहेको बताउनुभयो ।
सचिवको प्रतिवेदन सुनाउँदै उत्तम कुमार बज्राचार्यले शहकारीले शेयर सदस्यको लागि ५ लाख सम्मको दुर्घटना विमा, ज्येष्ठ नागरिक सम्मान र असल बचत कर्तालाई सम्मान गर्दै आएको बताउनुभयो ।

लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवदेन संयोजक सुनिता प्रधानले राख्नुभएको थियो । सहकारीमा आ.व.२०८१।८२ आष मसान्त सम्ममा चुक्ता शेयर पुँजी २ करोड १४ लाख ५३ हजार, जगेडा कोष ९८ लाख ५ हजार, बचत निक्षेप ३० करोड ९६ लाख ८० हजार, कर्जा जोखिम कोष १ करोड ४२ लाख ३ सय, नगद तथा बैंक मौज्दात ५ करोड ४६ लाख ५० हजार खुद नाफा ४५ लाख ३ हजार ८ सय रहेको संयोजक प्रधानले जानकारी दिनुभयो ।
सहकारीका अध्यक्ष हरि रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ओम प्रसाद मलेगो र सञ्चालन सचिव उत्तम कुमार बज्राचार्यले गर्नुभएको थियो ।





