२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

भोजराज भट्टराई
पाल्पा, ६ फागुन ।
पाल्पाको तानसेन नगरपालिका ३ नम्बर वडा भित्रका विद्यालयविच प्रतियोगितात्मक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । वडाको साहित्यिक कार्यक्रम समितिले बुधबार पद्म पब्लिक नमूना माध्यमिक विद्यालयको सभाहलमा लघुकथा, कविता लेखन तथा वाचन र वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।


प्रतियोगितामा तानसेन नगरपालिका ३ नम्बर वडा अन्तर्गत रहेका पद्म पब्लिक नमूना माध्यमिक विद्यालय, जनता नमूना माध्यमिक विद्यालय, पाल्पा आवासिय माध्यमिक विद्यालय, पाल्पा प्यारागन बोर्डिङ्ग स्कूल र सेन्ट कपितानियो इङ्गलिस बोर्डिङ्ग स्कूलका १५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । तानसेन नगरपालिका ३ नं. वडा कार्यालयको आर्थिक सहयोग, पाल्पा साहित्य समाजको समन्वयमा कार्यक्रम आयोजना गरिएको पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले जानकारी दिनुभयो ।


प्रतियोगितामा लघुकथातर्फ पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कूलकी छात्रा भूमिका बस्याल प्रथम, पाल्पा आवासिय मा.वि.का छात्रा कृष्टी वस्याल द्वितीय, जनता मा.वि.का छात्रा अलिन्सा घिमिरे तृतीय र सेन्ट कपितानियो इङ्गलिस बोर्डिङ्ग स्कूलका छात्र वैवभ कार्कीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

यस्तैगरी कविता लेखन तथा वाचन प्रतियोगितातर्फ पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कूलकी छात्रा कौशल्या वस्याल प्रथम, सेन्ट कपितानियो इङ्गलिस बोर्डिङ्ग स्कूलकी छात्रा प्रदिप्ती नेपाल द्वितीय, पद्म पब्लिक नमूना माध्यमिक विद्यालयकी छात्रा आसा गन्धर्व तृतीय र जनता माध्यमिक विद्यालयकी छात्रा तुलजा नेपाल सान्त्वना स्थान प्राप्त गरेका छन् ।

वक्तृत्वकला प्रतियोगितातर्फ सेन्ट कपितानियो इङ्गलिस बोर्डिङ्ग स्कूलकी छात्रा रियाना नेपाल प्रथम, पाल्पा प्यारागन बोर्डिङ्ग स्कूलकी छात्रा केकी बस्याल द्वितीय, जनता माध्यमिक विद्यालय पाल्पाकी छात्रा प्रेस्का घिमिरे तृतीय र पाल्पा आवासिय माध्यमिक विद्यालयकी छात्रा लजिना कार्की सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगिताका विजेता तथा सहभागी समूहलाई नगद, शैक्षिक सामग्री र प्रमाण पत्र प्रदान गरिएको थियो ।


प्रतियोगितामा विजेता तथा सहभागी विद्यार्थीलाई शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि एवम् तानसेन नगरपालिका ३ नम्बर वडाका अध्यक्ष बाबुरत्न शाक्यले साहित्यिक कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर हुने भएकाले विद्यार्थीको साहित्यिक प्रतिभा पहिचान र प्रवद्र्धन गर्न वडाले बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार मात्र विकास नभई शैक्षिक, साहित्यिक विकास पनि समाजको अभिन्न अङ्ग भएकाले वडाले आगामी वर्षमा यसप्रकारका कार्यक्रममा बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले विद्यालय र समाजको विकासका लागि मेरो होइन हाम्रो भन्ने भावनाको जागृत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा कवितातर्फ चित्रवलीराम सुवाल र चन्द्रकान्त न्यौपाने, वक्तृत्वकलातर्फ गोविन्द प्रसाद खनाल र प्रेमराज खराल, लघुकथातर्फ सविता भट्टराई र पुरुषोत्तम अर्याल निर्णायकको भूमिकामा रहनुभएको थियो ।


प्रतियोगिताका सहभागी तथा विजेता विद्यार्थीलाई शुभकामना दिँदै तानसेन नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवम् लेखा अधिकृत कोशलराज घिमिरेले साहित्य मानव जीवनको अभिन्न अङ्ग भएको र यसले जीवनमा आइपर्ने समस्याहरूको समाधानका लागि समेत मार्गनिर्देश गर्ने बताउनुभयो । कार्यक्रममा पाल्पा साहित्य समाजका सल्लाहकार चित्रवलीराम सुवाल, पाल्पा प्यारागन वोर्डिङ्ग स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्री, पद्म पब्लिक नमूना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक गोविन्द प्रसाद नेपाल, सहायक प्रधानाध्यापक सीता अधिकारी, स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष एवम् परेवा पाक्षिक पत्रिकाका सम्पादक भोजराज भट्टराई, मूल्याङ्कनकर्ताको तर्फबाट साहित्यकार प्रेमराज खराल लगायतले शुभकामना व्यक्त गर्दै वडातहमा आयोजना गरिने साहित्यिक कार्यक्रमहरूले स्थानीय प्रतिभाहरूको प्रवद्र्धन, सांस्कृतिक जगेर्ना र सामाजिक चेतना वृद्धिमा सहयोग पुग्ने धारणा राख्नुभयो । साहित्यलाई सवै क्षेत्रबाट विकास गर्नुपर्नेमा सहभागीको भनाइ थियो ।


कार्यक्रमका सहभागी एवम् विजेता विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्दै पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले पाल्पा साहित्य समाजले नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा विभिन्न कार्यक्रमलाई निरन्तर दिदै आएको बताउनुयो । उहाँले तानसेन नगरपालिका वडा नं. ३ को सहकार्यमा भएको साहित्यिक कार्यक्रमले कला र साहित्यको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य इन्दिरा ज्ञवालीले गर्नुभएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।